बझाङ । सुदूरपश्चिम प्रदेशको विकट जिल्लाको रुपमा रहेको बझाङ्गमा आजबाट भिडियो एक्सरेको अभ्यास सुरु भएको छ । जिल्लाको बुंगल नगरपालिकामा पहिलो पटक अल्ट्रासाउण्ड (भिडियो एक्सरे) मेसिनबाट गर्भ जाँच सुरु भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाका नर्सिङ कर्मचारीहरुका लागि अल्ट्रासाउण्ड सञ्चालनका लागि तालिम सञ्चालन गरेको थियो । सोहीअनुरुप बुंगल नगरपालिका–४ को खिरातडी स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड मेसिनद्धारा गर्भ जाँच गर्ने अभ्यास सुरु गरिएको हो ।
स्थानीय तहमै गर्भवती महिलाको भिडियो एक्सरे प्रविधिद्धारा चेकजाँच गरिने भएपछि दैनिक जाँचका लागि चैनपुर तथा धनगढी लगागत अन्यत्र जानुपर्ने समस्याको अन्त्य भएको छ । स्वास्थ्य चौकीमै अत्याधुनिक प्रविधिबाट जाँच हुन थालेपछि प्रजननसँग सम्बन्धित समस्याहरुको समाधान भएको स्वास्थ्य चौकीकी अनमी प्रमिलाकुमारी बोहोरा (धामी)ले बताइन् ।
उनले नगरपालिकाभित्रका गर्भवती महिलालाई चेकजाँच तथा बच्चा जन्माउन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको बताइन् । अल्ट्रासाउण्डबाट गर्भमा रहेको शिशुको सम्पूर्ण अवस्थाबारे जानकारी पाउन सकिन्छ । कतिपय अवस्थामा महिलाको पाठेघरभन्दा ठुलो शिशु हुने र उक्त कुराको समयमै जानकारी भएमा ज्यान जानसक्छ । यो प्रविधि सुरु भएसँगै उक्त समस्याको अन्त्य भएकोसमेत उनले बताइन् ।
सत्यराज सिंह ।