सूचनाको शक्ति - The Power Of Information

        

थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं । फेरि १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ । आइतबार बिहान संक्रमण पुष्टि हुनेमा सबै रौतहटका बासिन्दा हुन् ।

रौतहटको राजपूर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९ (दुईजना), ४२ र ४८ वर्षका पुरुष तथा रौतहटकै इशनाथ नगरपालिका–३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकराीले बताएका छन् । आइतबार संक्रमण पुष्टि भएका सबै १० जना हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

अहिलेसम्म नेपालमा एकजनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । कोरोना भाइरस संक्रमणबाट निधन भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहस्थलमा शनिबार राति अन्तिम संस्कार भएको छ । उनको बिहीबार बेलुकी निधन भएको थियो । शनिबार बेलुकी उनको निधन कोरोना भाइरस संक्रमणका कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

उनको शव धुलिखेल अस्पतालबाट शनिबार राति नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहस्थल ल्याई अन्तिम संस्कार गरिएको छ । स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी सुत्केरीको कोरोना भाइरसकै कारण ज्यान गुमेको पुष्टि गरेको थियो । स्वास्थ्य मन्त्रालयले शनिबार अबेर एक विज्ञप्ति जारी गर्दै उनको निधन कोरोना भाइरसकै कारण भएको पुष्टि गरेको हो ।

नेपालमा कोभिड १९ का कारण मृत्यु भएको यो पहिलो घटना हो । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी २९ वर्षीय ती महिलाको २५ गते डिस्चार्ज भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसे राम्चेकी ती महिला बिहीबार श्वासप्रश्वासमा समस्या उत्पन्न भई धुलिखेल अस्पताल ल्याउँदा उनको निधन भएको थियो । धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि कोरोना संक्रमण पुष्टि गरेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतवार ०८:१२