बाँके राष्ट्रिय निकुञ्जको गिद्देनीचौरमा वन्यजन्तुको आहारका लागि निर्माण गरिएको घाँसे मैदान ।
बाँके । बाघ संरक्षण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्ज घोषणा भएको १० बर्ष पुग्दैछ । नेपालकै कान्छो निकुञ्जका रुपमा घोषणा भएको बाँके निकुञ्जमा १० बर्षको बाघको संख्या २१ पुगेको छ । बाँकेमा सन् २००८ देखि बाघ गणना सुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ दखिएको थिएन ।
सन् २०१३ मा दोस्रो बाघ गणना अनुसार निकुञ्जमा चार वटा बाघ देखिएका थिए । सन् २०१८ मा भएको तेस्रो गणना अनुसार बाघको संख्या झण्डै पाँच गुणाले वृद्धि भई २१ पुग्यो । खासगरी सन् २०१३ पछि बाघको संख्या ह्वात्तै बढ्यो । तर निकुञ्जमा बाघका लागि आवश्यक पर्ने आहारा सोचेभन्दा कम छ । यसले निकुञ्जमा बाघ संरक्षणमा चुनौति थपिदिएको छ ।
‘बाघको संख्या बढ्नु निकै राम्रो हो,’ बाँके राष्ट्रिय निकुञ्जमा प्रमूख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने, ‘संख्या बढेसँगै संरक्षणमा चुनौति थपिएको छ ।’ उनका अनुसार बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको वृद्धि हुनैपर्ने देखिन्छ । उनले भने, ‘बाघ वृद्धिको अनुपातमा आहारा प्रजातिको संख्या बढाउनेतर्फ हाम्रो ध्यान केन्द्रीत भएको छ ।’
बाघ संरक्षणमा ठूलो चुनौति देखिएसँगै आहारा प्रजातिका वन्यजन्तुको संख्या बढाउन घाँसे मैदान निर्माणलाई निकुञ्जले प्राथमिकता दिएको छ । ‘आहारा प्रजाति बढाउने कामलाई प्राथमिकता दिएका छौं,’ प्रमूख संरक्षण अधिकृत भट्टराईले भने । मृग, चित्तल, चौका, बँदेल, रतुवा लगायतका आहारा प्रजातिको वन्यजन्तुको संरक्षण जरुरी रहेको उनको भनाई छ ।
एउटा बाघले बर्षमा औसतमा ६० वटा शिकार गर्छ भने एकपटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ । जुन एक हप्तासम्मका लागि हुन्छ । यसका लागि आहारा पर्याप्त बढाउनैपर्छ । ‘निकुञ्जमा बाघलाई पुग्ने आहारा भए पनि बाघको वृद्धिदर अनुसार पर्याप्त नहुँदा आहारा प्रजातिका वन्यजन्तुको संरक्षण जरुरी छ,’ प्रमूख संरक्षण अघिकृत भट्टराईले भने ।
बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको संख्या थप वृद्धि लगायतका चुनौति रहेको उनले बताए । प्रमूख संरक्षण अघिकृत भट्टराईले भने, ‘बाघको आहारा प्रजातिका वन्यजन्तुको वृद्धि गर्नु अबको मुख्य काम हो । हामीले यसैलाई प्राथमिकता दिएर काम गरिरहेका छौं ।’
बाँके राष्ट्रिय निकुञ्जको गिद्देनीचौरमा वन्यजन्तुको आहारका लागि निर्माण गरिएको घाँसे मैदानसँगै रहेको पानी पोखरी ।
निकुञ्जले बाघको आहारा प्रजाति बढाउनका लागि यस बर्षमात्रै २०० हेक्टरमा घाँसे मैदान निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ । निकुञ्जले गन्धेली, बुच्चापुर, खैरी र पानीमुहान भन्ने स्थानमा ४०/४० हेक्टर तथा ओभरीमा ३५ हेक्टर गरी २०० हेक्टरमा घाँसे मैदान निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ ।
हालसम्म सकिनुपर्ने काम कोरोना संक्रमणसँगै भएको बन्दाबन्दीका कारण केही ढिलाई भएको प्रमूख संरक्षण अघिकृत भट्टराईले बताए । उनका अनुसार अहिले १५० हेक्टर निर्माणको काम सकिएको छ भने अब ५० हेक्टरको काम जेठ महीनाभित्रै सक्ने गरी काम भइरहेको छ । निकुञ्जमा यसअघि निकै कम ४० हेक्टरमा मात्रै घाँसे मैदान निर्माण गरिएको थियो ।
निकुञ्जभित्र २४० हेक्टरमा घाँसे मैदान भएपछि बाघको आहारा प्रजातिमा वृद्धि हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘बन्दाबन्दीका कारण निर्माण गर्न बाँकी रहेको कामलाई पुनः निरन्तरता दिएका छौं । निर्माणका क्रममा थोरै संख्यामा मजदुरहरु परिचालन गरेर सामाजिक दुरी काय गर्दै काम भइरहेको छ । हामी बढीमा एक महीनाभित्र काम सम्पन्न गर्छौ ।’
चोरी शिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौति देखिएको छ । प्रमूख संरक्षण अघिकृत भट्टराईले भने, ‘निकुञ्जमा चोरी शिकार शुन्यजस्तै छ । तर वन्यजन्तुहरु निकुञ्ज बाहिर निस्किँदा केही चुनौति रहे पनि हामीले सचेतनामूलक अभियानहरु चलाएर न्यूनीकरणको प्रयास गरिरहेका छौं । यसले चोरीशिकार भएको छैन ।’
निकुञ्जमा बाघको संख्यामा उत्साहपूर्ण वृद्धि भएको बताउँदै संरक्षणकर्मी कृष्णलाल चौधरीले भने, ‘बाघको संख्या वृद्धि भएसँगै आहारा प्रजातिको संरक्षणसँगै बासस्थाने सुधारमा लाग्नुपर्ने आवश्यकता छ । बाघलाई जंगलमा सहजै शिकार गर्न सक्ने गरी आहारा प्रजातिको संख्यामा वृद्धि गर्नुपर्छ । त्यसो गर्न सकिएन भने संरक्षण चुनौतिपूर्ण छ ।’
सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुसार बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०६७ आसार २८ गते बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो । पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रुपमा बाँके निकुञ्ज रहेको छ ।
यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराको प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा ६ प्रकारका उभयचर पाइन्छन् । क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएको निकुञ्जले जनाएको छ ।
सत्यपाटी ।