सूचनाको शक्ति - The Power Of Information

        

बझाङका १० जनामा आरडिटी ‘पोजेटिभ’

बझाङ । दुई साताअघि महाकालीपारि झुलाघाट र धार्चुला नाकाबाट बझाङ ल्याएका १० जनामा आरडिटी ‘पोजेटिभ’ देखिएको छ । वित्थडचिर गाउँपालिकाको क्यारेन्टाइनमा रहेका ८ जनामा र बुंगल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा गरी १० जनामा आरडिटी पोजेटिभ देखिएको हो ।

१४ दिन क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्दा १० जनामा आरडिटी ‘पोजेटिभ’ देखिएको हो । उनीहरुको आजबाट स्वास्थ्य परीक्षण सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीहरुको टोली बनाएर भारतबाट आएकाहरुको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ ।

केदारेस्यूँ गाउँपालिकाको बागथला क्वारेन्टाइनमा रहेका २६ जनाको आरडिटी नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको गाउँपालिका कर्मचारी दिनेश रावलले जानकारी दिए । वित्थडचिर गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका ९९ जनाको शुक्रबारदेखि आरडिटी जाँच भइरहेको गाउँपालिका प्रवक्ता हर्क धामीले बताए ।

उनले भने, ‘झुलाघाट र धार्चुला नाकाबाट बैशाख १८ गते ल्याएका ब्यक्तिहरुको आजबाट स्वास्थ्य परीक्षण गर्दैछौ ।’ उता बुगल नगरपालिकाको क्वारेन्टायनमा रहेका ३८२ जनाको पनि स्वास्थ्य परीक्षण गर्न टोली त्यहाँ पुगिसकेको छ । नगरप्रमुख धनबहादुर विष्टका अनुसार स्वास्थ्यकर्मीको टोली पुगेसँगै परीक्षणको काम भइरहेको छ ।

आरडिटी ‘पोजेटिभ’ देखिएमा त्यस्ता व्यक्तिलाई जिल्ला अस्पताल पठाउने तयारी छ । त्यस्तै सुर्मा गाउँपालिकाको क्यारेन्टाइनमा रहेका सात जनाको पनि आजै परिक्षण गरिएको छ । भारतबाट आएका कामदारलाई कोरोना लागेको हुनसक्ने संका धेरै गरिएको भए पनि तर धेरैको स्वास्थ्य अवस्था ठीक रहेको देखिएको छ ।

वित्थडचिर गाउँपालिकाको क्यारेन्टाइनमा रहेका ४२ जनाको जाँच गर्न बाँकी रहेको गाउँपालिका प्रवक्ता हर्क धामीले बताए । आरडिटी ‘पोजेटिभ’ देखिएकाहरुको थ्रोड स्वाब संकलन गरेर पिसिआर जाँच गर्न धनगढी पठाइएको स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले बताए । उनले सवै क्यारेन्टाइनमा रहेका सबैको आरडिटी परीक्षणको नजिता शनिबार सकिने बताए ।

आरडिटी पोजेटिभ देखिएका व्यक्तिहरुलाई जिल्ला अस्पताल सिमखेतको आइसोलेसनमा ल्याइएको छ । महाकाली पारिबाट बझाङमा आएका ५०० जना र अन्य जिल्लाबाट आएका गरी ५३१ जना क्वारेन्टाइनमा बस्दै आएका थिए । घर आउन हिँडेका बझाङी कामदारहरु अझै भारतको बनबासा, खटिमा र रामपुरको क्वारेन्टाइनमा रोकिएका छन् । महाकालीपारी भारतीय क्वारेन्टाइनमा ४२ दिन बसेका बझाङीहरुलाई स्थानीय तहको समन्वयमा जिल्ला ल्याएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार १७:१०