सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट भित्रिए ८१९ नेपाली

बाँके । डेढ महिनादेखि भारतीय क्वारेन्टाइनमा रहेका ८१९ नेपालीलाई बिहीबार मध्यरातमा बाँकेका विभिन्न नाकाबाट भित्र्याइएको छ । भारतीय क्वारेन्टाइनमा रहेका नेपालीले अनेकौँ कष्ट भोग्नुपरेपछि उनीहरुलाई दुवै देशको सहमतिमा नेपालगन्ज र अन्य सहायक नाकाबाट ल्याइएको हो ।

नेपालगन्ज नाकाबाट ६८८ जना भित्रिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । नरैनापुरको भगवानपुर नाकाबाट ८९ र डुडुवा गाउँपालिकाको खडैचा नाकाबाट ४२ जना नेपालीलाई नेपाल ल्याएको उनले बताए । भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याउँदा नेपालको क्वारेन्टाइनमा रहेका भारतीयलाई लैजान सहमति भएको खड्काले बताए ।

उनले भारतको बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको बताए । बाँके र बर्दिया घर भएकालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । अन्य जिल्लामा भएकालाई नेपालगन्ज भन्सार कार्यालयको यात्रु शाखाको कम्पाउण्डमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

‘भारतबाट ल्याइएकालाई सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेर पठाइनेछ,’ उनले भने । सीमा आसपास अलपत्र परेका दुबै देशका नागरिकको उद्दार गरि आ–आफ्नो देशमा जानदिने सहमती अनुसार एक हजार चार सय बढी भारतीयलाई पठाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

बहराइच प्रहरीले नेपाल आउने ७०१ हजार ४८३ भारतीय स्वदेश फर्किएका छन् । उनीहरुलाई भारतीय अधिकारीले आफ्नो देश लैजान सहयोग गरेका थिए । भारतबाट ल्याइएका बाँके र बर्दियाकालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । जिल्ला अनुसारको नाम संकलन गरिसकेपछि आरडिटी जाँच गरि बाँके र बर्दियाकालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने छ ।

‘बाहिरी जिल्लाकालाई सम्बन्धित जिल्लाको प्रशासनसँग समन्वय गरि जिल्ला पठाइने छ,’ एसपी ओलीले भने । नेपाल प्रवेश गरेका सबै नेपालीको आरडीटी जाँच शुरु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । नेपाली सेनाले स्थापना गरेको टेन्टमा आरडिटी जाँच शुरु भइसकेको उनले बताए ।

‘आरडीटी जाँचमा नेगेटिभ देखिए सम्बन्धित जिल्लामा पठाउने र पोजेटिभ देखिए थप जाँचका लागि कोरोना अस्पताल पठाउने गरि तयारी छ,’ उनले भने । नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापन गरेको महेन्द्र बहुमुखी क्याम्पसमा राखिएका बाँके र बर्दियाका सर्वसाधारणको पनि आरडीटी जाँच गरि सम्बन्धित पालिकामा पठाउने तयारी गरिएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार १६:४९