बाँके । बाँकेमा संक्रमण पुष्टि भएका कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई उपचारका लागि दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ । नरैनापुरका कोरोना संक्रमितलाई बेलझुण्डी पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बाँकेको खजुरामा रहेको कोरोना विशेष अस्पतालमा ४० बेडको आइसोलेसन कक्ष भए पनि आपतकालिन अवस्थाका गम्भीर विरामीका लागि भन्दै केही बेडहरु खाली राखेर उनीहरुलाई बेलझुण्डी पठाइएको हो । आजमात्रै आठ जनामा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुको अवस्था सामान्य रहेकोले बेलझुण्डी पठाइएको उनको भनाई छ ।
‘खजुरामा ४० बेड क्षमता भए पनि गम्भीर प्रकृतिका कोरोनाका विरामी देखिएमा टाढा लैजाँदा समस्या हुने भएकाले स्वास्थ्य अवस्था सामान्य रहेका नरैनापुरका कोरोना संक्रमितलाई बेलझुण्डी पठाएका हौं,’ फोकल पर्सन श्रेष्ठले भने, ‘गम्भीर अवस्थाका संक्रमित आएमा तत्काल आपतकालिन अवस्थामा उपचारमा सहज होस् भनेर केही बेड रिजर्भ राखिएको हो ।’
नरैनापुरका कोरोना संक्रमितहरुलाई विशेष एम्बुलेन्समार्फत प्रहरी सुरक्षासहित बेलझुण्डी पठाइसकिएको छ । उनीहरुलाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा राख्नका लागि अस्पतालसँग समन्वय गरेर सबै तयारी पुरा भइरहेको छ । ‘संक्रमितले पाउनुपर्ने सबै प्रकारका चिकित्सकीय सेवाहरु प्रभावकारी हुनेछन्,’ उहाँले भने ।
आठै जना कोरोना संक्रमित भारतबाटै अवैधरुपमा नेपाल छिरेपछि नरैनापुर गाउँपालिकाले दीपेन्द्र प्रावि भवानपुर, नेराप्रावि र कृष्ण प्राविको क्वारेन्टाइनमा राखेको थियो । फरकफरक समूहमा नेपाल प्रवेश गरेका कोरोना संक्रमितहरु नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका स्थानीयबासी रहेका गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।
सबै सक्रमित सबै भारतबाट आएको अध्यक्ष शाहले बताए । हाल नरैनापुरमा ४४१ जनालाई क्यारेन्टाइनमा राखिएको छ । त्यहाँ राखिएका सबै भारतबाट आएका नेपाली नागरिक रहेको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा १८, २०, २२, २५ २५, २७ ३२ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
नरैनापुरमा संक्रमित देखिएका व्यक्ति यसअघि नेपालगन्जमा भेटिएका संक्रमितसँग सम्पर्क नरहेको पाइएको पनि कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनले भारतबाट घर आएकाहरुमध्ये नरैनापुरमा बिहीबार ४५ को स्वाब परीक्षण गरिएकोमा जाँचमा आठ जना कोरोना पोजिटिभ देखिएको बताए । नरैनापुरमा एकैपटक आठ जनामा कोरोना पुष्टि भएकाले आवश्यक सजगता अपनाइएको छ ।
‘संक्रमितलाई बेलझुण्डी पठाएसँगै उनीहरुको कन्ट्रयाक ट्रेसिङ गरेर थप परीक्षणलाई तीव्रता दिइनेछ,’ स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । नरैनापुरमा एकैपटक आठ जनामा कोरोना पुष्टि भएकोले सुरक्षा व्यवस्थालाई कडा पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए ।
जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो । नरैनापुरमा पछिल्लो तीन दिनमा मात्रै ४०७ जना भारतबाट भित्रिएको र उनीहरुको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको गाउँपालिका अध्यक्ष शाहले बताए ।
कोरोना संक्रमण फैलन नदिन देशभर बन्दाबन्दी भएलगत्तै प्रदेश ५ सरकारको पहलमा बेलझुण्डीमा १०० आइसोलेसन बेड भएको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल कोरोना संक्रमितको उपचारका लागि सबल र सक्षम रहेको कोरोना विशेष अस्पताल सञ्चालक समितिका सदस्य सचिव सर्वेश शर्माले बताए । यसअघि त्यहाँ आयुर्वेदिक अस्पताल सञ्चालनमा रहेको थियो ।
सत्यपाटी ।