सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट फर्किएका थिए नरैनापुरका आठै जना कोरोना संक्रमित

फाइल तस्वीर

भारतबाट मंगलबार राति आएका नरैनापुर गाउँपालिकाका बासिन्दा ।

बाँके । बाँकेमा थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भारतबाट आएको पाइएको छ । योसँगै बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ । यो पटक थपिएका सबै नरैनापुर गाउँपालिकाका हुन् । आठ जना फरकफरक समूहमा आएका थिए र दीपेन्द्र प्रावि भवानपुर, नेराप्रावि र कृष्ण प्राविको क्वारेन्टाइनमा थिए ।

उनीहरु नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका हुन् । ‘दुई हप्ताअघि भारतबाट आएका हुन् । नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो,’ गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा १८, २०, २२, २५ २५, २७ ३२ र ३६ वर्षीय पुरुषमा कोरोना देखिएका हो ।

भारतबाट घर आएका बाँकेको नरैनापुर गाउँपालिकामा बिहीबार ४५ को जाँचमा आठ जना पोजिटिभ देखिएका हुन् । ‘सक्रमितहरुलाई नेपालगन्ज ल्याउने तयारी भइरहेको छ, ‘स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने, ‘अब संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ गर्छौं ।’ हाल नरैनापुरमा ४४१ जना क्यारेन्टाइन्मा छन् । सबै भारतबाट आएका हुन् ।

उनका अनुसार सङ्क्रमित सबै भारतबाट आएका हुन् । उनीहरुको यसअघि नेपालगन्जमा भेटिएका सङ्क्रमितसँग सम्पर्क नरहेको पाइएको छ । सङ्क्रमितलाई उपचारका लागि नेपालगन्ज ल्याउने तयारी भएको छ । नरैनापुरमा एकैपटक आठ जनामा कोरोना पुष्टि भएकाले आवश्यक सजगता अपनाइएको छ । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् ।

नरैनापुरमा एकैपटक आठ जनामा कोरोना पुष्टि भएकोले सुरक्षा व्यवस्थालाई कडा पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

नरैनापुरमा पछिल्लो तीन दिनमा मात्रै ४०७ जना भारतबाट भित्रिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनका अनुसार भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासीलाई गाउँपालिकाले सीमाबाट उद्धार गरेर १० क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा आएर बसेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार १२:५७