काठमाडौं । हाल झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किन चाहे पनि सवारी पास नहुँदा फर्कन पाएका छैनन् । दमकस्थित आफ्नो स्वामित्वमा रहेको हिमालय टी गार्डेनमा बस्दै आएका शाहले काठमाडौं फर्कन चाहे पनि स्थानीय प्रशासनले उनले प्राप्त गरेको पास एकाएक रद्ध गरिदिएपछि काठमाडौं फर्किन नपाएका हु्न् ।
पूर्वराजाका एक सहयोगीले उनी काठमाडौं फर्किन खोजेको भएपनि प्रशासनले बिहीबार जारी गरेको पास एकाएक रद्ध गरेपछि फर्किन समस्या भएको बताए । शाह र आफ्नी पत्नी कोमलसहित परिवारका केही सदस्यसहित झापामा रहेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले गृह मन्त्रालयको आदेशका पास जारी भएको केही घण्टामै उनको पास रद्ध गरेको बताइएको छ ।
कोरोनाको सम्भावित जोखिम बढेको भन्दै सरकारले एक जिल्लाबाट अर्को जिल्ला जानसमेत रोक लगाएको सन्दर्भमा शाह पनि रोकिएका हुन् । गृह मन्त्रालयले बिहीबारदेखि पास बाहक सवारीसाधनलाई समेत एक जिल्लाबाट अर्को जिल्लामाजान नपाउने गरी रोक लगाएको छ भने शनिबारदेखि जिल्लाभित्रै पनि सवारीसाधन आवतजात गर्न नपाउने गरी यसअघि जारी भएको सबै पास रद्ध गर्ने निर्णय गरेको छ ।
उनी बिहीबार पासको बन्दोबस्त गरेर शुक्रबार काठमाडौं फर्किने तयारीमा थिए । पूर्वराजा शाह लकडाउन सुरु हुनुअगावै पत्नी कोमलसहित झापा पुगेका थिए। शाहको हकमा अब गृह मन्त्रालयले पास दिन निर्देशन दिएको खण्डमा विशेष पास जारी हुन सक्ने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
सत्यपाटी ।