बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बस्नेको संख्या ४४१ पुगेको छ । पछिल्लो तीन दिनमा मात्रै ४०७ जना भारतबाट भित्रिएका हुन् । ३४ जना बैशाख २१ गते आएका थिए । भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका स्थानीय सीमामा अलपत्र परेकालाई गाउँपालिकाले क्वारेन्टाइनमा राखिरहेको छ ।
भारतबाट आउनेको संख्या अत्याधिक बढेपछि क्वारेन्टाइन थप गरेर उनीहरुको व्यवस्थापन गरिरहेको अध्यक्ष इस्तियाक अहमद शाहले बताए । अझैं आउने क्रम चलिरहेकाले उनीहरुको उचित व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको समन्वय र सहयोग जरुरी रहेको उनले बताए ।
स्थानीय विद्यालय र मदरसामा उनीहरुलाई व्यवस्थापन गरेर राखेको शाहले जानकारी दिए । गाउँपालिकाले बनाएको विभिन्न १० वटा क्वारेन्टाइनमा उनीहरुलाई राखिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । नेरा प्रावि महतिनियामा २४, नेरा प्रावि गेगली २५, आदर्श मावि लक्ष्मणपुर ८१, नेरा प्रावि खोदवाँ ३४, नेरा प्रावि परसरामपुर्वा ५७, नेरा कृष्णा प्रावि हुलासपुर्वा २८, जयकिसान मावि भोजपुर ६१, दिपेन्द्र प्रावि भगवानपुर ३८, मदरसा अरबिया गुलसने वारिस हुरमतुल उलुम नरैनापुर ४३ र नेरा प्रावि शंकरनगर कोटियामा ५० जना बसेको खरालले जानकारी दिए ।
उनका अनुसार क्वारेन्टाइनमा आएर बसेकाहरुको पिसिआर परिक्षणका लागि स्वाब पनि संकलन भइरहेको छ । हिजोमात्रै ४५ जनाको स्वाब संकलन गरेर भेरी अस्पतालमा परिक्षणका लागि पठाइएको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले बताए । यसअघि क्वारेन्टाइनमा बसेका १५ जनाको स्वाब परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
सत्यपाटी ।