हिजो सिंहदरबार छिर्नका निम्ति कयौंले ज्यान गुमाए, कयौ घाइते भए त कयौ अपाङ्ग र हजारौको संख्यामा वेपत्ता भए, तीमध्ये कोही सकुशल सिंहदरबार छिरे । आज सिंहदरबारमा बस्नेहरुले नै हामीमाथि सेवाको नाममा शासन र शोषण गरिरहेका छन् । जनतालाई नोकरसरह बनाएर आफु साहु महाजन कहलिएका छन् । मुलुकमा कम्युनिष्टको सरकार आओस् या काँग्रेसको के फरक पर्छ र हाम्रो जिन्दगीमा ? एउटाले जमिन बेच्छ त अर्काेले जल बेच्छ । दुइटैको मिलिभगतमा कौडीको दाममा खाडीमा युवा बेचिन्छन् ।
देश निर्माणका निम्ति जुट्नुपर्ने उद्यमशिल हातहरु अयोग्य, असक्षम र भ्रष्ट नेताको चाकडी गर्नमा सक्रिय हुनाले नै मुलुकको यो हालत भएको हो । नेताको चाकडी गर्ने र उनै भ्रष्ट नेताबाट टीका लगाई आशीर्वाद लिने झोले युवाहरुको यो हर्कत साह्रै भयानक देखिन्छ कि यो देशको हालत भोली के होला ? हरेक तहमा निर्वाचन हुन्छन यहाँ मुलुकमा । हाम्रा आवश्यकता र दुखसुख परिपूर्ति गर्ने सर्तमा आआफ्नो क्षेत्रबाट जनप्रतिनिधि चुन्छौं । तर निर्वाचन जितेको दोस्रो दिनबाटै टाढा हुन्छन् हाम्रा जनप्रतिनिधिहरु ।
मानौ कि हामीहरुले मतदान गरेर उनीहरुलाई खुलेआम लुट मचाउन लाइसेन्स बनाइदियौं । मतदान पनि आज यस्तो हतियार भइदियो कि विजयी प्राप्त गर्नेले भएसम्मको लुटपाट, ठगी, हत्या, हिंसा, बलात्कार गर्ने लाइसेन्स जस्तो । आज त्यहि जनप्रतिनिधि जो हिजो फाटेको चप्पलमा हिँड्थे, आज उ करोडको गाडी चढ्छ । जो साँझ विहान खान नहुनेले ठुलठुला तारे होटल मार्सी चामलको खाना खान्छ । हिजो दुई हल गोरु नहुने आज दर्जनौं डोजरको मालिक छ । लाग्छ, यो भौतिक दुनियाँका राजा महाराज तिनै हुन् । लाग्छ, तिनीहरु पेटमै संसार जितेर आएका हुन् र हामी हारेर आएका हौं र पो यो स्थिति छ ।
अब हामी जाग्नुपर्छ । आज तल्लाघरे काकाको सुर्केथैली चोर्नेले भोली हाम्रो घर पस्दैन भन्ने के ग्यारेन्टी छ ? यहाँ धर्ती भासिँदैछ, आकाश खस्दैछ, तर तपाईं हामी आफ्नै लाचार जिन्दगी र पूर्खाैदेखि मक्किएको झुपडीकै संरक्षणका निम्तिमात्र संघर्ष गरिरहेका छौं । आफु सवार सिंगो जहाज पल्टिन थालिसक्यो, हामी भने सिटबेल्ट लगाएर बसेका छौं । रहौला कहाँ यदि देश नेपाल नै नरहे । आउ सुरुवात गरौं नयाँ युद्धको जो माटोको लागि लड्नुछ । यो सबै अब हाम्रै पुस्ताको काँधमा छ । प्रत्येक नागरिकको प्रत्यक्ष सहभागिताले मात्रै सम्भव छ । बेला भइसक्यो मित्र । अब त उठ्नै पर्छ । नैतिकतामा खडेरी परेकाहरुविरुद्ध राष्ट्रव्यापि अभियान थालनी गरेर त्यसको सामना गर्न सक्ने आँट, साहस र सामथ्र्य जुटाउनुपर्छ ।
आँखै अगाडि देश लुटिरहँदा कायर भएर निरह जीवन विताउनुभन्दा भावी सन्ततिका निम्ति पनि सोच्न जरुरी छ । हामी भुइँमा सुतेर हजुरबुबा चिसोका कारणले बितेपछि पण्डितलाई खाट किनेर दान गर्ने प्रवृत्तिको समाजमा छौं । त्यसैले सकिन्छ भने आफु परिवर्तन हुन आफैंबाट सुरुवात गरौं । हजारौं सहिदहरुको रगत, श्रमिकहरुको पसिना र करोडौं नेपालीको संघर्षबाट निर्मित एउटा संविधान छ, हामीसँग । भन्न त यो संविधानलाई विश्वको दोस्रो उत्कृष्ट संविधान मानिएको छ । तर यहि उत्कृष्ट संविधानले न त जनतालाई पेटभरि खाना दिएको छ, न त पूरा शरीर ढाक्ने कपडा दिएको छ । केही टाठाबाठा वर्गका लागि भने घुमिफिरी करोडौं कुम्ल्याउने दस्ताबेज बनेको पक्कै पनि छ ।
अचेल झन् लुटपाट र ठगी गर्नकै लागि नीतिगतरुपमा निर्णय गरेर भ्रष्टाचार गर्न पाउने साधन बनेको छ संविधान । हेर दाजुभाई अब चुपलागेर बस्नुहुन्न तपाई हामी । आखै अगाडि देश बेचिँदै गर्दा हामीले मुकदर्शक बनेर बस्नुहुन्न । लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो । हाम्रो भूमि अतिक्रमण गरेर नेपालीका छात्तीमा छुरा रोपिँदा हामी मौन बस्न कदापि मिल्दैन । भारतले हाममाथि गरेको अन्यायका विरुद्धमा हामी एकजुट भएर लड्नुपर्छ । अन्याय गर्नु अपराध हो भने चुप लागेर त्यसलाई सहनु महाअपराध हो । हामी जागेनौं भने अरु आएर यो देशको विकास गर्नेवाला छैनन् । त्यसैले आजैदेखि उठौं, जुटौं अनि जागांैं । जय मातृभूमी नेपाल ।।
(लेखक नेपाल विद्यार्थी संघ मष्टा गाउँपालिका बझाङका अध्यक्ष हुन् ।)
विनोद कठायत ।