सूचनाको शक्ति - The Power Of Information

        

बर्षौदेखिको बाँझो जमीन खन्दै स्थानीय 

बझाङ । बझाङ्गको सुर्मा गाउँपालिकाले यार्सा संकलनमा रोक लगाएपछि स्थानीयहरु बर्षौदेखि बाँझो राखेको जमीन खनेर अन्न तथा तरकारी लगाउन थालेका छन् । यो सिजनमा यार्सा टिप्न लेकतिर जाने यहाँका स्थानीयहरुले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी यार्सा टिप्न रोक लगाएपछि बाँझो राखिएका जमीन खनजोत गरेर अन्नबाली र तरकारी खेती गर्न थालेका हुन् ।

जिल्लाको हिमाली क्षेत्रमा यार्सा संकलन गर्न लागेको झण्डै दुई दशक भयो । यार्सा संकलनबाट मनग्य आम्दानी हुने भएपछि स्थानीयहरुले पाखो जमिनमा अन्न तथा तरकारी लगाउन छोडेका थिए । सुर्मा गाउँपालिकाका–३ का स्थानीय ५५ बर्षिय तिख्या बोहराले भने, ‘यहाँका स्थानीयका पैसा कमाउने माध्यम भनेको यार्सा नै हो ।’

अहिले देशमा यस्तो संकट भएकाले यार्सा टिप्न गाउँपालिकाले रोक लगाएपछि आफुहरुले लामो समयदेखि बाँझो जमिन खनजोत गर्ने थालेको बोहराले बताए । गाउँपालिकाका सबै वडाका स्थानीयहरु यतिखेर कृषि कार्यमा ब्यस्त भएका छन् । वैशाख महिनाको पहिलो सातादेखि स्कुले विद्यार्थीदेखि सबैजना यार्सा टिप्न लेकतिर जाने गर्दथे । अहिले कृषि कार्यमा सबै बाँझो जमिन खनजोत गरेर कसैले आलु, कोदो, सिमी तथा फलफुल रोप्न जुटेका छन् ।

सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले भने, ‘सरकारले लकडाउनको घोषणा गरेकाले गाउँपालिकाभित्र पनि यार्सा संकलन गर्दा भिडभाड हुने भएकाले यार्सा संकलन कार्य बन्द गरिएकोे छ ।’ त्यसैगरी जिल्लाका अन्य गाउँपालिकाका स्थानिहरु पनी पुरानो जमिन खनजोत गर्न जुटेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार १६:०२