सूचनाको शक्ति - The Power Of Information

        

छाङ्ग्रुमा बीओपी स्थापना, कालापानीमा १७ किलोमिटर वरैबाट सीमा सुरक्षा !

दार्चुला । दार्चुलाको छाङ्ग्रुमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीको टोली बस्ने भएको छ, त्यसमध्ये १० जना बुधवार त्यहाँ पुगेका छन् । सशस्त्र प्रहरी बलको सुरक्षा पोष्ट राख्न गृह मन्त्रालयको टोलीसहित सशस्त्र प्रहरी बलको टोली दार्चुलाको व्यास नगरपालिका–१ छाङ्ग्रु पुगेको हो ।

बुधवार बिहान गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्रा.डा.इन्द्रजित राई र एआईजी नारायणबाबु थापासहितको टोली दार्चुला प्रस्थान गरेको थियो । खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरी लिएर सो टोली छाङ्ग्रु जाने बताइएको थियो । छाङ्ग्रुमा बीओपी स्थापनाका लागि आवश्यक बस्दोबस्तीका सामान हेलिकप्टरमा गृहमन्त्रालयले पठाएको छ ।

कालापानी तथा लिपुलेक लगायतका क्षेत्रमा अतिक्रमण बढिरहेका बेला त्यसको १७ किलोमिटर वर छाङ्ग्रुमा सशस्त्र प्रहरीको बीओपी राख्न लागिएको हो । व्यास गाउँपालिका अध्यक्ष दिलिप बुढाथोकीले दिएको जानकारी अनुसार कालापानीभन्दा छाङ्ग्रु १७ किलोमिटर वर पर्छ । ब्यास गाउँपालिका–१ दार्चुलामा २५ रोपनी जग्गा उपलब्ध भएपछि विओपी स्थापना गरिने जनाइएको छ ।

सरकारले विओपी स्थापनाका लागि ११ करोड बजेटसमेत बिनियोजन गरिसकेको जनाएको छ । तत्कालका लागि कालापानी, लिम्पियाधुराको रक्षार्थ तत्काल ३४ सुरक्षाकर्मी खटिनेछन् । यसअघि सरकारले कालापानीमा आफ्नो भूमिको सुरक्षार्थ सुरक्षाकर्मी खटाउन सकेको थिएन । कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र र नेपाली प्रहरीको टोली खटाएको छ ।

बुधबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा सीमा निगरानीका लागि सशस्त्र प्रहरी त्यसतर्फ गएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाले जनाएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सेनाको हेलिकोप्टरले छाङ्गरु पुर्याएको छ । चार दिनअघि शुक्रबार भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुलेकसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ ।

दार्चुलाको व्यास गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्न सशस्त्र प्रहरी निरीक्षकको कमाण्डरमा २५ सशस्त्र प्रहरी खटाइने जनाइएको छ । स्थानीय व्यक्तिको घर भाडामा लिएर बिओपी बस्ने तयारी गरिएको छ । छाङ्गरुमा ११० घरधुरी रहेको छ । सरकारले गत मंसिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको थियो ।

सशस्त्र प्रहरीले रिर्जभ गरेको हेलिकोप्टरमा नेपाल प्रहरी पनि सँगै पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । नेपाल प्रहरी विगतमा पनि छाङ्गरुको गागामा बस्दै आएको छ । सशस्त्र प्रहरीलाई व्यासमा बाह्रैमास राख्ने गरी बिओपी स्थापना गर्न लागिएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत मेडिकल उपकरण, हातहतियार र जनशक्तिलाई पठाइएको छ ।

समुद्री सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको छाङ्गरुमा बाह्रैमास सशस्त्र प्रहरीको उपस्थिति गराउने सरकारको तयारी छ । कालापानी चार हजार २०० मिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक, लिम्पियाधुरा करिब पाँच हजार मिटरको उचाइमा पर्छ । छाङ्गरुबाट कालापानी १२ किलोमिटरको दूरीमा छ भने कौवाक्षेत्र छाङ्गरुदेखि झण्डै पाँच किलोमिटरको दूरीमा पर्छ ।

यस्तै छाङ्गरुबाट लिपुलेक १७ किलोमिटरको दूरीमा छ । भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको विन्दुमा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न लागेको हो । गत फागुन पहिलो साता नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र प्रहरीको बिओपीस्थलको हवाई निरीक्षण गरेका थिए ।

त्यस्तै गत चैत पहिलो साता सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्ट नेतृत्वको टोली स्थलगत निरीक्षण गरेका थिए । सशस्त्र प्रहरीको छाङ्गरुको गागामा रहे पनि अहिले नेपालीको पहुँच रहेको कौवा क्षेत्रसम्म नियमित एलआरपी गस्ती हुनेछ । व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमिन समेत उपलब्ध गराएका छन् ।

स्थानीयले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्र प्रहरीलाई दिएका छन् भने सरकारले व्यासमा बिओपी स्थापना र निर्माणका लागि रु ११ करोड बजेट विनियोजन गरेको छ । अहिले व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा रहेका प्रहरी व्यास गाउँपालिका–२ दुम्लिङमा सारिएको छ । गागामै रहेको नेपाल प्रहरीलाई सशस्त्रसँगै पठाइएको छ भने तिङ्कर क्षेत्रको प्रहरी भने बाटो खुलेपछि पठाउने तयारीमा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १५:१४