सूचनाको शक्ति - The Power Of Information

        

नेपालका २२ जिल्लामा पुग्यो कोरोना, आजदेखि लकडाउन झन् कडा

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि ह्वात्तै बढेको छ । हिजो (मंगलबार) एकैदिन ८३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । नेपालका २२ जिल्लामा पुगेको कोरोना संक्रमणबा संक्रमितमध्ये यो समाचार तयार पार्दासम्म ३३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

जिल्लागत रुपमा हेर्दा नेपालमा सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा देखिएका छन् । पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगको छ । त्यस्तै उदयपुरमा ३० जना कोरोना संक्रमित फेला परेका छन् । यस्तै, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौँमा ४, मोरङमा २, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो एकैदिन ८३ संंक्रमित फेला परेसँगै केही खुकुलो भएको काठमाडौँको लकडाउन पुनः आजबाट कडाई गरेको छ । सरकारले आजदेखि लागु हुनेगरी एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि दिएका सबै पास रद्ध गरेको छ । पहुँचवालाहरुले पास लिएर दुरुपयोग गरेको भन्दै आलोचना हुन थालेपछि सरकारले यसअघि जारी गरेका सबै पास रद्द गर्ने निर्णय गरेको हो । गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने नाममा लकडाउन खुकुलो बनाएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए । लकडाउन खुकुलो बनाउने नाममा कोराना भाइरसले भयावह रुप लियो भने नियन्त्रण बाहिर जाने भन्दै प्रधानमन्त्री ओलीले लकडाउन झन कडा बनाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशन लगत्तै गृहमन्त्रालयले लकडाउनलाई झन कडा बनाउने नीति लिएको हो ।

जेठ १ गतेदेखि लागू हुने गरी सरकारले यसअघि जारी गरेका सबै पास खारेज गर्ने निर्णय गरेको छ । पहुँचवालाहरुले पास लिएर दुरुपयोग गरेको भन्दै आलोचना हुन थालेपछि सरकारले यसअघि जारी गरेका सबै पास रद्द गर्ने निर्णय गरेको हो । गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिएको छ । अबदेखि आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र नयाँ पास वितरण हुनेछ । अब परिचयपत्रको भरमा सडकमा निस्कन पाइने छैन ।

यस्तो छ गृहको नीति

१) एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका ईपाससहित सबै सवारी पास रद्द ।
२) अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनिवार्य स्वीकृतिमा मात्रै जारी गर्नुपर्ने ।
३) अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने ।
४) त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बरसमेत समावेश गर्नुपर्ने ।
५) पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने ।
६. जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास बिना एक जिल्लाबाट अर्को जिल्ला जाने गरी सवारी आवागमन भए गरेको पाइए तत्काल शुरु जिल्लाले नै अर्को जिल्ला पुग्नुअगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार ०९:२८