काठमाडौं । बैशाख नेपाली भूमि मिचिएको कालापानी सुरक्षार्थ सशस्त्र प्रहरीको टोली आज (वुधबार) विहान सेनाको होलिकोप्टरमार्फत त्यता उडेको छ । नेपाली सेनाको एमआइ १७ हेलिकप्टरबाट बोर्डर अब्जर्भेसन पोष्ट (विओपी) स्थापना गर्ने गरी सशस्त्र प्रहरीका एआइजी नारायण थापाको नेतृत्वमा टोली खटिएको हो ।
बुधबार कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापना गरिने कार्यक्रम रहेको छ । ऐतिहासिकरुपमा यो सुरक्षा क्याम्प पहिलो पटक स्थापना गरिएको हो । नेपाली सेनाको हेलिकोप्टरबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीसहित छाङरु पुगेको कार्यक्रम रहेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
ब्यास गाउँपालिका–१ दार्चुलामा २५ रोपनी जग्गा उपलब्ध भएपछि विओपि स्थापना गरिने जनाइएको छ । सरकारले विओपी स्थापनाका लागि ११ करोड बजेटसमेत बिनियोजन गरिसकेको जनाएको छ । तत्कालका लागि कालापानी, लिम्पियाधुराको रक्षार्थ तत्काल ३४ सुरक्षाकर्मी खटिने छन् ।
भारतले १९ किलोमिटर नेपाली भूमि मिचेको परराष्टमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन् । यस अघिसम्म सरकारले कालापानीमा आफ्नो भूमिको सुरक्षार्थ सुरक्षाकर्मी खटाउन सकेको थिएन । कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र र नेपाली प्रहरीको टोली खटाउने निर्णय भएको हो ।
बुधबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा सीमा निगरानीका लागि सशस्त्र प्रहरी त्यसतर्फ गएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाले जनाएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सेनाको हेलिकोप्टरले छाङ्गरु पुर्याएको छ । चार दिनअघि शुक्रबार भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुलेकसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ ।
दार्चुलाको व्यास गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्न सशस्त्र प्रहरी निरीक्षकको कमाण्डरमा २५ सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली पठाउने तयारी गरिएको छ । टोलीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्री तयारीमा गुल्मका टोली खटिएको उनले बताए ।
स्थानीय व्यक्तिको घर भाडामा लिएर बिओपी बस्ने तयारी छ । छाङ्गरुमा ११० घरधुरी रहेको छ । सरकारले गत मंसिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको थियो । सशस्त्र प्रहरीले रिर्जभ गरेको हेलिकोप्टरमा नेपाल प्रहरी पनि सँगै पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । नेपाल प्रहरी विगतमा पनि छाङ्गरुको गागामा बस्दै आएको छ । सशस्त्र प्रहरीलाई व्यासमा बाह्रैमास राख्ने गरी बिओपी स्थापना गर्न लागिएको हो ।
हेलिकोप्टरमार्फत मेडिकल उपकरण, हातहतियार र जनशक्तिलाई पठाउने तयारी छ । समुद्री सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको छाङ्गरुमा बाह्रैमास सशस्त्र प्रहरीको उपस्थिति गराउने सरकारको तयारी छ । कालापानी चार हजार २०० मिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक, लिम्पियाधुरा करिब पाँच हजार मिटरको उचाइमा पर्छ । छाङ्गरुबाट कालापानी १२ किलोमिटरको दूरीमा छ भने कौवाक्षेत्र छाङ्गरुदेखि झण्डै पाँच किलोमिटरको दूरीमा पर्छ ।
यस्तै छाङ्गरुबाट लिपुलेक १७ किलोमिटरको दूरीमा छ । भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको विन्दुमा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न लागेको हो । गत फागुन पहिलो साता नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र प्रहरीको बिओपीस्थलको हवाई निरीक्षण गरेका थिए ।
त्यस्तै गत चैत पहिलो साता सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्ट नेतृत्वको टोली स्थलगत निरीक्षण गरेका थिए । सशस्त्र प्रहरीको छाङ्गरुको गागामा रहे पनि अहिले नेपालीको पहुँच रहेको कौवा क्षेत्रसम्म नियमित एलआरपी गस्ती हुन सक्नेछ । व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमिन समेत उपलब्ध गराएका छन् ।
स्थानीयले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्र प्रहरीलाई दिएका छन् भने सरकारले व्यासमा बिओपी स्थापना र निर्माणका लागि रु ११ करोड बजेट विनियोजन गरेको छ । यस्तै सशस्त्र प्रहरी पुर्याउने हेलिकोप्टरमा नौ जना नेपाल प्रहरी पनि गएका छन् । छाङ्गरुमा रहने नेपाल प्रहरीलाई हेलिकोप्टरमार्फत पठाएको हो । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) हर्कसिंह महताको नेतृत्वमा टोली खटाउन लागिएको हो ।
अहिले व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा रहेका प्रहरी व्यास गाउँपालिका–२ दुम्लिङमा सारिएको छ । सशस्त्र प्रहरी हेलिकोप्टरमार्फत गएपछि गागामै रहेको नेपाल प्रहरीलाई सशस्त्रसँगै पठाइन लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । तिङ्कर क्षेत्रको प्रहरी भने बाटो खुलेपछि पठाउने तयारीमा रहेको बताइएको छ ।
सत्यपाटी ।