सूचनाको शक्ति - The Power Of Information

        

हुलाकी सडक निर्माणमा सामग्री अभाव

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । बाँकेमा निर्माणाधीन हुलाकी सडकमा बन्दाबन्दीका कारण निर्माण सामग्री अभाव भएको छ । हुलाकी सडक योजना कार्यालय नेपालगन्ज अन्तरगत निर्माणाधीन नेपालगन्ज–बघौडा र फत्तेपुर–बैजापुर हुलाकी सडकमा निर्माण सामग्री अभाव भएको हो । राप्तीसोनारीले नदीजन्य पदार्थ उत्खननका लागि बोलपत्र लगाउन नसक्दा निर्माण सामग्री अभाव भएको छ ।

राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरदेखि विनौना हुँदै बैजापुरको नारायणपुर धामपुर जोड्ने सडकका लागि निर्माण सामग्री अभाव भएको निर्माण कम्पनी एपेक्स कङ्काली खड्का कृष्ण जेभीका सञ्चालक जय केसीले जानकारी दिए । उनका अनुसार फत्तेपुर–बैजापुर २१ किमी सडक निर्माणका लागि अधिकांश स्थानमा माटो पटान भइसकेकाले अब ग्राभेलिङ गर्न आवश्यक पर्ने निर्माण सामग्री ग्राभेलको अभाव देखिएको छ ।

‘माटो पटानको काम ९० प्रतिशत सकिएको छ । केही स्थानमा कल्भर्ट निर्माणको काम पनि ग्राभेल अभावले हुन सकिरहेको छैन,’ उनले भने, ‘निर्माण सामग्री अभावबारे राप्तीसोनारी गाउँपालिका, हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगन्ज र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि पहल भएको छैन ।’ समयमै निर्माण सामग्री पाउन नसके वर्षाअघि नै सडक ग्राभेल हुन नसक्ने उनको भनाइ छ ।

माटो पटान गरिएको सडकमा ग्राभेल हुन नसके वर्षातमा स्थानीय बासिन्दालाई आवतजावतमा ठूलो कठिनाइ हुनेछ । सडक निर्माण सम्झौता गरिएको छ महीनाका अवधिमा कोरोना माहामारीका बीच पनि २० प्रतिशत काम सम्पन्न भइसकेको केसीको जिकिर छ । २१ किमी लम्बाइको उक्त सडक तीन वर्षभित्र सक्ने गरी ६ महिनाअघि एपेक्स कङ्काली खड्का कृष्ण जेभीले ठेक्का सम्झौता गरेको थियो ।

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमै सञ्चालन भएको नेपालगन्ज–बघौडा सडक खण्डमा पनि निर्माण सामग्री अभाव भएको निर्माण कम्पनी गणपति कन्स्ट्रक्सनका फिल्ड व्यवस्थापक इन्द्र केसीले जानकारी दिए । बन्दाबन्दीमा सीमित मजदूरलाई निश्चित दायराभित्र राखेर स्वास्थ्य अवस्थामा प्रभाव नपर्ने गरी काम शुरु गरिए पनि निर्माण सामग्री अभाव हुन थालेको उनको भनाइ छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका सूचना अधिकारी रामसागर हरिजनले बन्दाबन्दीका कारण आवश्यक निर्माण सामग्रीमा कठिनाइ हुन पुगेको बताए । फत्तेपुर–बैजापुर हलाकी राजमार्गमा वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको जानकारी दिँदै उनले निर्माण सामग्रीको उपलब्धताका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार ०८:५२