सूचनाको शक्ति - The Power Of Information

        

नर्समा पनि कोरोना संक्रमण भेटियो

कपिलवस्तु । कपिलवस्तु जिल्लास्थित एक अस्पतालमा काम गर्ने नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जना कपिलवस्तु नगरपालिकाका क्वारेन्टाइनमा रहेका र एक जना जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्स (सिस्टर)मा कोरोना देखिएको बताइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले भने, ‘आठ जना क्वारेन्टाइनमा रहेका र एक जना अस्पतालमा काम गर्ने सिस्टर रहेको जानकारीमा आएको छ ।’ अस्पतालकी नर्समा कोरोना संक्रमण भएको नेपालमा पहिलो पटक हो । तौलिहवा नगरपालिकाका प्रमुख किरण सिंहले स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी गराए ।

उनले भने, ‘मैले अस्पतालका मेसुसँग कुराकानी गरे । सबैजना स्वास्थ्यकर्मीको जाँच गरिएको हो । उहाँमा पोजेटिभ आएको छ ।’ तौलिहवा अस्पतालका मेसु डा.किसोर बञ्जाडेले आफूलाई पनि स्वास्थ्यकर्मीमा कोरोना देखिएको भन्ने खबर आएको बताए । प्रदेशको सामाजिक विकास मन्त्रीका प्रेस सल्लाहकार रुद्रहरि कुँवरले पनि स्वास्थ्यकर्मीमा कोरोना देखिएको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार १७:३१