सूचनाको शक्ति - The Power Of Information

        

दीर्घरोगी, ज्येष्ठ नागरिक र गर्भवतीलाई घरमै पुगेर स्वास्थ्य सेवा

फाइल तस्वीर

फाइल तस्वीर

डोटी । विगत पाँच वर्षदेखि दमको औषधि सेवन गर्दै आएका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेराका ६५ वर्षीय दानबहादुर विष्ट कोरोना भाइरस (कोभिड–१९) का कारण औषधि किन्न नपाएर निकै समस्यामा परेका थिए । नियमित सेवन गर्ने औषधि नहुँदा उनलाई कतिबेला ज्यान जाने हो भन्ने डरले सताएको थियो । तर केही दिनयता उनको डर हराएको छ । अब उनले स्वास्थ्य जाँच र औषधि निशुल्करुपमा घरमै पाउन थालेका छन् ।

गाउँपालिकाको पहलमा आफूले सेवन गर्ने औषधि घरमै उपलब्ध भएपछि अब औषधि नपाएर ज्यान जानसक्ने डर हटेको विष्टले बताए । उनले भने, ‘औषधि किन्न कैलाली जानुपर्छ, बन्दाबन्दीका कारण ल्याउन सकिएको थिएन, गाउँपालिकाको सहयोगमा औषधि पाएँ खुशी छु, अब त ढुक्क भएको छु ।’ उनमात्र नभई जिल्लाका सयौँ दीर्घरोगी अहिले घरैमा उपचार सेवा पाउन थालेपछि निकै खुशी छन् । उनीजस्तै डोटीमा रहेका दीर्घरोगी तथा गर्भवती महिलाले घरैमा उपचार सेवा पाउन थालेपछि उनीहरु पनि खुशी देखिन्छन् ।

बन्दाबन्दी (लकडाउन) का कारण आफूले सेवन गर्दै आएको औषधि किन्न नपाएर समस्यामा परेका नागरिकलाई स्थानीय तहले नै औषधि किनेर निःशुल्करुपमै उपलब्ध गराउन थालेपछि दीर्घरोगीहरुमा खुशियाली छाएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने डरले स्वास्थ्य चौकीमा आई नियमित उपचार गर्न नसक्ने ज्येष्ठ नागरिक तथा गर्भवती आमाहरुलाई घरैमा गएर स्वास्थ्य उपचार दिने जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार यहाँका नौवटै स्थानीय तहले उपचार दिन थालेको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले बताए ।

उनले भने, ‘कोरोनाको त्रासका कारण स्वास्थ्य संस्थामा आएर उपचार गर्न नसक्ने तथा अन्य कारणले स्वास्थ्य संस्थामा आउन नसकेका दीर्घरोगी, ज्येष्ठ नागरिक तथा गर्भवती आमालाई हामीले घरैमा स्वास्थ्य जाँचसहित औषधि वितरण गर्न थालेका छौँ, बिरामी र गर्भवती आमाले घरैमा स्वास्थ्य जाँचसहित औषधि पाउन थालेका छन् ।’ त्यसैगरी जिल्लामा रहेका दिपायल सिलगढी र शिखर नगरपालिका, आदर्श, सायल, पूर्वीचौकी, केआइसिंह, बोगाटन फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाले आफ्नो गाउँपालिकाले पनि दीर्घरोगीका लागि घरघरमै औषधि उपलब्ध गराएको छ ।

सरकारले गरेको बन्दाबन्दीले यातायात बन्द हुँदा कैलालीलगायत भारतका विभिन्न अस्पतालबाट औषधि खरिद गरी ल्याउने वा मगाउने सम्भावना नभएको र नियमित औषधि सेवन नगरे ज्यान जोखिम हुने देखिएपछि आफ्नो स्थानीय तहमा बसोबास गर्ने दीर्घरोगीलाई संस्थागतरूपले घर घरमा औषधि उपलब्ध गराउन थालिएको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताए । उनले भने, ‘जिल्ला बाहिरबाट औषधि मगाएर प्रयोग गर्दै आएका नागरिकको समस्यालाई मध्यनजर गर्दै हामीले आफैँले औषधि मगाएर वितरण गर्न शुरु गरेका छौँ ।’

उनका अनुसार दीर्घरोगीको नाम, ठेगाना, उमेर सङ्कलन गरी नियमित औषधि सेवन गर्न चिकित्सकले प्रमाणित गरेको कागजातका आधारमा निःशुल्क औषधि वितरण गर्ने गरिएको छ । वितरित औषधिमा धेरैजसो उच्च रक्तचाप, मिर्गौला, दम, खोकी लगायतको रहेको छ । यहाँका स्थानीय तहले नै यो सेवा शुरु गरेपछि स्थानीयवासी निकै खुशी भएको सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले बताए । उनले भने, ‘लकडाउनले उपचार तथा औषधि किन्न नपाएर विभिन्न रोगका बिरामीलाई समस्या भएको थियो, स्थानीय तहले आफैँले किनेर घरैमा दिन थालेपछि उनीहरुलाई सहज भएको छ ।’

दीर्घरोगीका लागि यहाँका स्थानीय तहले काठमाडौँ लगायतका ठाउँबाट औषधि मगाएर उपलब्ध गराउन थालेको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । उनका अनुसार जिल्लाभरमा कम्तीमा पनि ८०० भन्दा बढी नागरिक दीर्घरोगको औषधि सेवन गर्दै आएका छन् । यसै सिलसिलामा जिल्लाको केआइसिंह गाउँपालिकाले एक छुट्टै स्वास्थ्य टोली परिचालन गरी आफ्नो गाउँपालिकामा भएका ज्येष्ठ नागरिक र गर्भवती आमालाई घरैमा स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाएको छ ।

गाउँपालिकामा रहेका स्वास्थ्यकर्मीलाई गाउँ गाउँमा खटाएर गाउँपालिकाले आफ्ना गाउँपालिकामा यस्तो औषधि सेवन गरिरहेका र गर्भवतीको अवस्था, बच्चाको अवस्था, स्वासप्रस्वास, मुटुको गतिलगायत अन्य स्वास्थ्यको अवस्थाबारे पूर्वजानकारी लिन गाउँपालिकाले एक थान पोर्टेबल भिडियो एक्स–रे मेसिनसहित अन्य उपकरण र औषधिको व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीको टोलीले अहिले गाउँ गाउँमा गएर ज्येष्ठ नागरिकको अवस्था र गर्भवती महिला तथा गर्भमा रहेको बच्चाको स्वास्थ्य जाँच गर्न थालेको केआइसिंह गाउँपालिकास्थित दुर्गामाडौँ स्वास्थ्यचौकीका अनमी गीता भट्टले बताए ।

उनले भने, ‘स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न नसक्ने ज्येष्ठ नागरिक र गर्भ जाँच गर्न नसक्ने अवस्थाका गर्भवती महिलालाई हामीले घरैमा गएर स्वास्थ्य जाँच गर्न थालेका छौँ, जसले गर्दा यहाँका ज्येष्ठ नागरिकका साथै गर्भमा भएको बच्चाको अवस्थाका बारेमा सजिलैसँग बुझ्न सकिएको छ ।’ यहाँका स्वास्थ्यकर्मीले तालिका बनाएर प्रत्येक महिना गाउँपालिकाका ६ वटै वडामा विभिन्न उपकरण, भिडियो एक्स–रे मेसिनसहित तालिम प्राप्त एकजना अहेव र एकजना अनमीमार्फत वडामै उनीहरुको स्वास्थ्य जाँच गर्नेगरी स्वास्थ्यकर्मीलाई औषधिसहितको व्यवस्था गरिएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर शाहीले बताए ।

उनले भने, ‘हामीले तालिमप्राप्त स्वास्थ्यकर्मीको टोली पठाएर स्वास्थ्य जाँच गर्न थालेका छौँ, स्वास्थ्य उपचार र गर्भ जाँच गर्नकै लागि अब जिल्ला अस्पताल सिलगढी तथा दिपायल जानुपर्ने अवस्था बन्द भएको छ ।’ ज्येष्ठ नागरिकलाई आफ्नो स्वास्थ्य अवस्था तथा महिलालाई गर्भको बच्चाको अवस्थाका बारेमा समयमै जानकारी नहुँदा यहाँका कतिपय गर्भवती महिलाले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता भएपछि गाउँपालिकाले उक्त अभियानको थालनी गरेको गाउँपालिका उपाध्यक्ष मीना विष्टले बताए । गाउँपालिकाले पछिल्लो समय ज्येष्ठ नागरिकको अवस्था तथा गर्भको बच्चाको अवस्थादेखि सम्भावित खतरा भए नभएको विषय आफ्नै गाउँमा थाहा पाउने व्यवस्था गरेको उनले जानकारी दिए ।

केआइसिंह गाउँपालिका वडा नं ५ रानागाउँकी स्थानीय माधवी शाहीले आफूहरुलाई निकै खुशी लागेको बताइन् । उनले भनिन्, ‘संवेदनशील अवस्थाका बिरामीलाई घरैमा आएर स्वास्थ्यकर्मीले जाँच गर्न थालेपछि सबै खुशी छन् ।’ गाउँपालिकाको कार्यालयसँगै जोडिएको दुर्गामाडौँ स्वास्थ्यचौकीका अहेव, हेल्थ असिस्टेन्ट तथा अनमीलाई स्वास्थ्य जाँचका लागि विभिन्न उपकरण तथा भिडियो एक्स–रेसम्बन्धी तालिम दिएर भिडियो एक्स–रे मेसिन खरिद गरिएको गाउँपालिकाले जनाएको छ । उक्त गाउँपालिकामा वार्षिकरुपमा कम्तीमा ५०० जना गर्भवती महिलाको गाउँमै पुगेर गर्भजाँच गर्ने गरी भिडियो एक्स–रे मेसिन उपलब्ध गराइएको छ ।

गाउँपालिकाले लागू गरेको यो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत संवेदनशील प्रकृतिका स्वास्थ्य सेवा पर्छन् । स्वास्थ्यकर्मीहरु गाउँपालिकाले उपलब्ध गराएको स्वास्थ्य उपकरण, औषधि तथा भिडियो एक्स–रे मेसिन झोलामा बोकेर गाउँगाउँमा उपचारका लागि पुगिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर बोहराले बताए । ‘गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा आमाको गर्भ जाँचका लागि मेसिन उपलब्ध गराएपछि गाउँमा भएका गर्भवती महिला र गर्भमा रहेका बच्चाको समग्र अवस्थाका विषयमा जानकारी लिन सजिलो भएको छ,’ उनले भने, ‘उपचार गर्न नसकेका र खतरामा परेका दिर्घरोगी, ज्येष्ठ नागरिक तथा गर्भवतीलाई तत्काल राम्रो अस्पतालमा पठाउन पनि यस सेवाका कारण सहज भएको छ ।’

केआइसिंह गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रसूति गृह) समेत सञ्चालन गरिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा रहे पनि अहिलेसम्म भिडियो एक्स–रे मेसिन नहुँदा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । गाउँपालिकाले ज्येष्ठ नागरिक र गर्भ जाँच, औषधि तथा आमाका लागि भिडियो एक्स–रे मेसिन उपलब्ध गराएपछि स्थानीयवासी अहिले भने ढुक्क छन् । उनीहरुले अब अरु प्रकारको स्वास्थ्य जाँच गराउन पनि सजिलो हुने अपेक्षा गरिएको बताउँछन् । रासस

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार १६:३१