सूचनाको शक्ति - The Power Of Information

        

ज्यान मार्ने धम्कीपछि सोनपुर स्वास्थ्य चौकीमा ताला

बाँके । बांँकेको खजुरा गाउँपालिका–७, सोनपुरमा रहेको स्वास्थ्य चौकीमा ताला लगाइएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकी बन्द गरिएको हो । गाउँंपालिकाको सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरुलाई स्थानीय रफी भाटसहितको समुहले कार्यालमा आएर ज्यान मार्ने धम्की दिएको भन्दै यसअघि स्वास्थ्यकर्मी र कर्मचारीहरुले प्रहरीसंग सुरक्षा माग गरेका थिए ।

उनीहरुले कर्मचारीहरुलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्नेसम्मको अश्लिल गालीगलौज गरेको र भाटसहितले कार्यालयमा आई कर्मचारीहरु माथि अभद्र ब्यवहार गरेको स्वास्थ्य चौकी ईन्चार्ज सुदिप पौडेलले बताए । कार्यालय परिसरमै आएर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिएपछि आज मङ्गलबारदेखि स्वास्थ्य चौकी बन्द गरिएको छ ।

स्थानीय युवाको धम्कीपश्चात काम गर्ने वातावरण नभएको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीले स्वास्थ्य चौकी खोलेनन् । जसले गर्दा स्वास्थ्य चौकीबाट नियमित प्रदान गरिँदै आएको सेवा प्रभावित बनेको छ । कार्यालय परिसरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वाताबरण नभएकाले सुरक्षाको प्रत्याभुति दिलाउन धम्की दिनेहरुमाथि कानूनी कारवाही गर्न यसअघि ईलाका प्रहरी कार्यालय धनौलीमा लिखित निबेदन दिइएको थियो ।

चौकी इन्चार्ज पौडेलका अनुसार स्वास्थ्य चौकीमा नजन्मेको बच्चालाई स्वास्थ्य चौकी मै जन्मेको प्रमाणीकरण गरिदिन दवाब दिएपछि उक्त दवाब आफुले अस्विकार गर्दा भाटसहितका ब्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । वैशाख २६ गते स्वास्थ्य चौकीमा प्रसुति गराउन आएकी रफि भाटकी श्रीमतीलाई स्वास्थ्य चौकीकी महिला कर्मचारीले सुत्केरी ब्यथा नलागेको भन्दै घर फर्काएका थिए ।

कोरोना भाइरसको संक्रमणको आशंकामा स्वास्थ्यकर्मीहरुले धमाधम स्वाब संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छ । अझ आज विश्व नर्सिङ्ग दिवस मनाइरहँदा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पुगी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ज्यान मार्ने धम्की दिदाँसम्म बाँके प्रहरीले धम्की दिने ब्यक्तिलाई पक्राउ गर्न सकेको छैन ।

यसैबीच इप्रका धनौलीका इन्चार्ज एवं प्रहरी निरीक्षक प्रहरी पोषणराज थपलियाले सोनपुर स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्की आएपछि आफुहरुमाथि जीउज्यानको सुरक्षा गरी पाउँ भन्दै प्रहरी कार्यालयमा निबेदन दिएको र सो उपर अनुसन्धान सुरु भएको बताएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार १५:२०