सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश २ र ५ मा कोरोना संक्रमित धेरै, तराईका जिल्ला उच्च जोखिममा

काठमाडौं । आज (मंगलवार) दिउसो एकैपटक ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमित हुनेहरुको संख्या १९१ पुगेको छ । पछिल्लो पटक तराईका जिल्लाहरुमा संक्रमणको उच्च जोखिममा देखिएका छन् । भारतसँग सीमा जोडिएका प्रदेश २ र प्रदेश ५ मा संक्रमण बढ्दै गएको छ ।

हालसम्म प्रदेश २ मा ७१ जनामा संक्रमण देखिँदा प्रदेश ५ मा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै तेस्रो स्थानमा प्रदेश १ छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हालसम्म ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ७ जनामा संक्रमण पुष्टि भएको छ । सुदुरपश्चिममा ५ जना संक्रमणित हुँदा गण्डकी प्रदेशमा दुई जनामा संक्रमण पुष्टि भएको छ । सुदुरपश्चिम र गण्डकी प्रदेशका संक्रमित निको भएर घर फर्किसकेका छन् भने बागमती प्रदेशको चितवनमा अझै एक जना उपचारका क्रममा भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत छन् ।

कुन जिल्लामा कति संक्रमित ?

पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी प्रदेश २ को पर्सामा देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या ६४ पुगेको छ । आजै मात्र पर्सा जिल्लामा ३९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै प्रदेश ५ को कपिलबस्तुमा संक्रमितको संख्या २९ पुगेको छ । आज मात्र कपिलबस्तुमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

हिजो सोमवार पनि यहाँ १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यस्तै बाँके जिल्लामा संक्रमितको संख्या २४ छ । त्यस्तै प्रदेश ५ कै बर्दिया जिल्लामा सोमवार एक जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै प्रदेश १ को उदयपुर जिल्लामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै झापा जिल्लामा दुई जनामा संक्रमण देखिँदा सप्तरी र भोजपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रदेश २ को रौतहट र बारामा तीनरतीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै सर्लाहीमा एक जनामा संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको काठमाडौंमा पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यहाँ संक्रमण पुष्टि भएका मध्ये एक जना धादिङका हुन् । उनी खाडी मुलुकबाट नेपाल आएका थिए । कोरोना भाइरसको संक्रमण देखिएपछि उनी घर नगइ टेकु अस्पतालमा पुगेका थिए । त्यस्तै कोरोना भाइरसको आउटब्रेक इपिसेन्टर वुहानबाट फर्किएका एक जना विद्यार्थीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

बागमती प्रदेशकै चितवनमा दुई जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जनाको आइसोलेसनमा उपचार भइरहेको छ । गण्डकी प्रदेशको बाग्लुङमा दुई जनमा संक्रमण पुष्टि भएकोमा उनीहरु उपचारपछि घर फर्किसकेका छन् । त्यस्तै सुदुरपश्चिममा संक्रमित भएका पाँच जना मध्ये कैलालीमा चार र कञ्चनपुरमा एक जना रहेका छन् । उनीहरु पाँचै जना उपचारपछि घरै फर्किसकेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार १५:०८