सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा लाग्यो ‘भारतीय विस्तारवाद मुर्दावाद’को नारा

बाँके । नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले सिमा मिचेर सडक निर्माण गरेपछि नेपालमा अहिले चौतर्फी विरोध प्रदर्शनहरु भइरहेका छन् । कोरोना संक्रमणविरुद्ध लडिरहेका बेला भारतले नेपाली भूमि अतिक्रमण गरेर हस्तक्षेपको नीति अबलम्न गरेको भन्दै नेपालभित्र विरोध प्रर्दशनहरु भइरहेका छन् ।

यसैक्रममा आज भारतीय पक्षबाट अनधिकृत रुपमा सडक निर्माण र सञ्चालन गरेर सिमा अतिक्रमण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेले नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ । सीमा अतिक्रमणको विरोधमा गर्दै युवक संगठनका केन्द्रीय सदस्य ऋषि देवकोटाले बताए ।

वर्तमान सरकारले सीमा रक्षा गर्न नसकेको भन्दै नेपाली भूमि मिचिँदासमेत ठोस कदम चाल्न नसकेर लाचारीपना देखाइरहेको बताए । उनले सरकारले तत्काल नेपाली भूमिमाथिको अतिक्रमण रोक्न काँडेतार लगाउनुपर्ने बताए । उनले नेपाल सरकारले तत्काल त्रिदेशिय बैठक गरेर कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा टुंग्याउनुपर्ने बताए ।

नेपाललाई पनि आफ्नो प्रान्त बनाउने प्रयास गरिरहेको भन्दै देवकोटाले भने, ‘सिक्किम भन्ने देशलाई भारतले आफ्नो प्रान्त बनाइसकेको र अगल पहिचान बोकेको जम्मू कश्मिरलाई टुक्राइसकेको छ । त्यही रणनीति अनुसार भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको छ । यसका विरुद्धमा नेपालीहरु आब जाग्नुपर्छ ।’

पूर्खाले कालापानीका लागि लडेको स्मरण गर्दै उनले अब सबै मिलेर भारतीय अतिक्रमणविरुद्ध लड्नुपर्ने बताए । उनले सिमा अतिक्रमण सह्य नहुने भन्दै यस विषयमा सरकार गम्भीर नभएको भन्दै आफ्नो स्वाभिमान र सीमा रक्षाका लागि नेपाली नागरिकहरुले बलिदानी दिनुपर्ने बेला आइसकेको बताए ।

भारतले नेपालको भूभागमा सेना राखेर अतिक्रमण गरेको र नेपालको जमिन आफ्नो नक्सामा समावेश गरेको भन्दै उनले समस्या समाधान नहुञ्जेल सरकारलाई निरन्तर दबाब दिर्नुपर्ने पनि बताए । नेपालगन्जमा भएको विरोध प्रदर्शनमा सहभागीहरुले सिमा मिच्न पाइँदैन, लिपुलेक हाम्रो हो, सिमा बचाऔं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार १४:२३