सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी जवान मृत अवस्थामा फेला

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–३ आग्रीगाउँमा रहेको प्रहरी चौकीमा कार्यरत जवान नरेन्द्र खड्का कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी चौकी नजिकैको जंगलमा फेला परेका छन् । सोमवार राती ड्यूटीमा रहेका प्रहरी जवान खड्का हतियारसहित फरार भएका थिए ।

सुर्खेतको चिंगाड गाउँपालिका साविक रानीवास गाविस–५ का उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । एक थान पेस्तोल र सात राउण्ड गोलीसहित भागेका प्रहरी जवान प्रहरी चौकी माथितिर रहेको जंगलमा कञ्चटमा गोली लागेको अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

घटनापश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरिक्षक दिल्लीराज पन्त, प्रहरी अनुसन्धान अधिकृत भरत शाहसहितको टोली घटनास्थलतर्फ लागेको कर्णाली प्रहरी प्रदेश प्रमुख डिआइजी वसन्तकुमार पन्तले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार १०:४१