सूचनाको शक्ति - The Power Of Information

        

बालविवाह रोकथाम चुनौतीपूर्ण

प्रतिकात्मक तस्वीर

बाँके । बाँकेमा बालविवाह रोकथामको व्यावहारिक पक्ष चुनौतीपूर्ण बन्दै गएको छ । अभिभावकले नै २० वर्ष उमेर नपुग्दै आप्mना छोराछोरीको विवाह गरिदिने प्रवृत्तिका कारण यो चुनौतीपूर्ण बनेको हो ।

०६८ को जनगणनाअनुसार बाँकेको बालविवाह ६० प्रतिशत रहेको छ । केही समययता जिल्लाका केही सचेत युवायुवती किशोरी र बाल क्लबमार्फत जनचेतनामूलक कार्यक्रममा लागिपरे पनि विशेषगरी मुस्लिम तथा मधेसी समुदायमा बालविवाह रोक्न नसकिएको बालअधिकारकर्मी साहिल अन्सारीको भनाइ छ ।

बाँकेमा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्यांक नभए पनि बालविवाह बढ्दै गएको बालविवाहका क्षेत्रमा काम गर्ने संघसंस्थाको बुझाइ छ । गत आर्थिक वर्ष जिल्ला प्रहरी कार्यालयमा लिखित र मौखिक गरी ५० बढी उजुरी परे पनि दोषीमाथि कानुनी कारवाही भएको पाइँदैन ।

‘उजुरीको संख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेसी समुदायमा बालविवाह त निर्वाध हुने गरेको छ,’ अधिकारकर्मी कमला पन्तले भनिन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालविवाह कानुनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो रहेको बताए ।

२० वर्षभन्दा कम उमेरमा विवाह गरे त्यसलाई नेपालको कानुनले बालविवाह भन्ने गरेको छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाले काम गरिरहेका छन् । यो प्रयासपछि बालविवाह केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा रोकिन भने सकेको छैन । नेपालको कानुनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था छ ।

तर, बालविवाह रोकथामका लागि बनाइएका कानुन प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन । जसका कारण बालविवाहका घटना बढ्दै गएको अवस्था छ । बालविवाह रोकथामका लागि स्थानीय सरकार र संघसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजित तिवारीको सुझाव छ । बाँके मधेसी र मुस्लिम समुदायको बाहुल्यता भएको जिल्ला हो ।

विशेष गरेर यो समुदायमा २० वर्ष नपुग्दै विवाह गर्ने प्रचलन छ । तर, कानुनले २० वर्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ । केही महिनाअघि बाँकेमा छोरीको विवाह १६ वर्षमै विवाह गर्न पाउँ भनेर मागसमेत उठेको थियो । सो मागलाई समाजका अगुवाले गैरकानुनी माग भनेर टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार ०९:०७