सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाले ३६ शिक्षक, कर्मचारी र सुरक्षागार्डको जागिर चट !

काठमाडौं । लकडाउनकै बेला काठमाडौंको एक सरकारी विद्यालयले ३६ जनालाई जागिरबाट निकालेको छ । टोखा नगरपालिका–७ को तिलिङ्गाटार माध्यमिक विद्यालयले अब कहिले खुल्छ यकिन छैन भन्दै लामो समयदेखि पढाउँदै आएका शिक्षक, कर्मचारी र सुरक्षागार्डलाई निकालेको हो । वैशाख अन्तिम साता विद्यालय व्यवस्थापन समिति बैठक राखेर विद्यालयले शिक्षक, कर्मचारी र सुरक्षा गार्डको करार अवधि नथप्ने निर्णय गरेको हो ।

विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेले विद्यालयमा आर्थिक संकट आइपरेकोले ३६ जनाकै करार अवधि थप नभएको बताए । ‘उहाँहरूको करार अवधि चैतमा सकिएको हो,’ उनले भने, ‘अहिलेसम्मको तलब खुवाएर विद्यालय व्यवस्थापन समितिले म्याद थप गरेन ।’ यस विद्यालयमा गत शैक्षिक सत्रसम्म एक हजार ३०५ जना विद्यार्थी थिए । नयाँ भर्ना कोरोनाका कारण बन्द छ ।

प्रअ पाण्डेले दिएको जानकारीअनुसार विद्यालयमा ३० जना शिक्षक सरकारी दरबन्दीका छन् । ‘विद्यार्थी संख्या बढेपछि विगतमा शिक्षक, कर्मचारी पनि थपिँदै गइएको थियो,’ उनले भने, ‘अहिले शिक्षा निस्शुल्क हुँदै गयो, अभिभावकले पैसा तिर्दैनन् । ३६ जना निजी स्रोतका शिक्षकलाई तलब कसरी खुवाउने ?’ पछिल्ला दुई वर्ष ती शिक्षक, कर्मचारीलाई तलब खुवाउन समस्या परेको उनले बताए ।

‘जेनतेन चैतसम्म धानिएको हो,’ उनले भने, ‘स्कुलमा पैसो छैन । अभिभावकले तिरे पो पैसा हुन्छ र तलब खुवाउने ।’ जागिरबाट निकालिएका शिक्षकहरू लामो समयदेखि कार्यरत थिए । विद्यालयको पुस्तकालयमा रहेका कर्मचारीको पनि जागिर गएको हो । ‘नमूना स्कुलमा परेको पैसा पनि सरकारले नदिएको उनले बताए । ‘कोरियनहरूले पुस्तकालय बनाउँदा पैसा दिएका थिए पछि दिन छाडे,’ उनले भने ।

गत बर्षदेखि विद्यालयमा आर्थिक संकटले गाह्रो पर्दै आएको उनले बताए । अहिले कोरोनाले झन् संकट ल्यायो ।’ विव्यसले शैक्षिक सत्र सुरू भएपछि विद्यार्थी संख्या हेरेर ती शिक्षक, कर्मचारीको म्याद थप गर्न सक्ने प्रअ पाण्डेले बताए । करार अवधि थप गर्नेरनगर्ने अधिकार विव्यसलाई छ । ‘आवश्यकता हेरेर नयाँ शैक्षिक सत्रपछि पूराना शिक्षक, कर्मचारीको म्याद थप गर्ने निर्णय भएको छ,’ प्रअ पाण्डेले थपे ।

नयाँ शैक्षिक सत्र कहिलेदेखि सुरू हुन्छ भन्ने एकिन नहुँदा पनि ती शिक्षक, कर्मचारीको करार अवधि थप गर्न नसकिएको उनले बताए । ‘नयाँ शैक्षिक सत्र कहिलेदेखि सुरू हुन्छ नै एकिन छैन । दशैं पो पुग्ने हो कि !,’ उनले भने, ‘एक महिनामा तलबमा सात लाख खर्च हुन्छ, विद्यालयको खातामा २० हजार छ । कसरी करार अवधि थप्ने ?’ उनले विद्यालयको दुइटा ब्लकमा भौतिक पूर्वाधार खडा गर्दा लागेको २० लाख ऋण तिर्न बाँकी रहेको पनि बताए ।

‘बेला कोरोनाको पर्यो, विद्यालयमा आर्थिक संकट छ,’ उनले भने, ‘स्रोत जुट्यो भने पछि शिक्षक, कर्मचारी राख्न सकिन्छ । अहिले करार अवधि थपेर तलब खुवाउन सकिन्न ।’ उनले विद्यालयलाई सहयोग गर्न भन्दै वडा कार्यालय र नगरपालिकालाई जानकारी गराइएको पनि बताए । ‘सबैजना बसेर अहिलेको अवस्था र आर्थिक संकट हेरेरै शिक्षक, कर्मचारीको करार अवधि थप नगरिएको हो,’ प्रअ पाण्डेले भने ।

उनका अनुसार निजी स्रोतका शिक्षक अरू विद्यालयले हटाउँदै गए पनि आफूहरुले भने राखेको बताए । ‘अब धान्न नसकिने भो,’ प्रअ पाण्डेले भने । टोखा नगरपालिका–७ का वडाध्यक्ष नरोत्तम रानाले विद्यालयले ठूलो संख्यामा शिक्षक, कर्मचारी निकालेको अवस्थाबारे छलफल गर्ने तयारी भइरहेको बताए । ‘आज वा भोलि विव्यस समितिसँग बैठक बस्छौं,’ उनले भने, ‘अवस्था के रहेछ बुझ्छौं ।’ चार महिना अघि सेवा सुविधाबारे शिक्षकले गुनासो गरे पनि अहिले कसैले पनि वडामा निवेदन नदिएको उनले बताए ।

#सेतोपाटीबाट

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार १७:१२