कपिलवस्तु । पछिल्लो समय प्रदेश पाँचको कपिलवस्तुमा कोभिड–१९ का बिरामी धमाधम भेटिएपछि जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सील गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई ‘सील’ गर्ने निर्णय भएको कपिलवस्तु प्रहरी प्रमुख दीपशमसेर जबराले जानकारी दिए ।
‘आवतजावत गर्न पाइँदैन । मानिसहरु घरबाट निस्कन पनि पाइँदैन । कर्फ्यू बराबर हो,’ राणाले भने । उनले यो अवस्था सोमबार २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागू हुने बताए । कपिलवस्तुमा अहिलेसम्ममा १५ जना कोरोना संक्रमित व्यक्ति भेटिइसकेका छन् । सोमवार मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।
कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइनमा रहेका २ जना छन् । यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए । कपिलवस्तुको भारतीय सीमातर्फ आइबारसम्ममा १९ सय बढी व्यक्ति अलपत्र अवस्थामा रहेको स्थानीय प्रशासनको भनाइ छ । त्यसमध्ये ति व्यक्तिहरु गएराती नेपाल प्रवेश गरेको स्थानीयहरु बताउँछन् ।
सत्यपाटी ।