सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाविरुद्धको अग्रमोर्चामा ‘धर्मगुरु’

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । धार्मिक, सामाजिक र जातिय सद्भाव भड्किन नदिन र भड्की हालेको खण्डमा समस्या समाधान गर्न धर्मगुुरुहरुद्वारा नेपालगन्जमा गठित अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले द्वन्द्व समाधान गर्दै आएको छ । यो मञ्चमा हिन्दू, इस्लाम (मुस्लिम), क्रिश्चियन, बौद्ध र शिख धर्मका धर्मगुरु आवद्ध छन् ।

यही मञ्चमार्फत यहाँको सद्भाव कायम राख्न, धार्मिक विवाद समाधान गर्न र हिंसा भड्किन नदिन नेपालगन्जमा रहेका धर्मगुरुहरु एक ठाउँमा उभिन्छन् । मञ्चको पहिलो प्राथमिकता धार्मिक, जातिय एवं सामाजिक सद्भाव जोगाउने रहेको मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी बताउँछन् । ‘धार्मिक द्वन्द्वका धेरै घटना मञ्चले मिलाएको छ,’ उनले भने ।

बाँकेमा धार्मिक एवं सामाजिक सद्भाव अवस्था आए यहाँका सामाजिक, धार्मिक एवं मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाले धार्मिक गुरुलाई गुहार्ने गर्छन् । यस अर्थमा बाँकेको धार्मिक र सामाजिक सद्भाव धार्मिक गुरुहरुको भरमा अडेको छ । बाँकेमा विभिन्न समयमा भड्केका धार्मिक, सामाजिक र जातिय सद्भावलाई यहाँका धर्मगुरुले समाधान गर्छन् ।

अहिले पनि नेपालगन्जका धर्मगुरुहरु आ–आफ्नो धार्मिक काममा मात्र सिमित छैनन् । सामाजिक सद्भाव कायम गराउन पनि उत्तिकै सक्रिय छन् । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइरस बिरुद्धको अभियानमा नेपालगन्जका सर्वसाधारणलाई सचेत गराउन हिन्दु, ईस्लाम, शिख, बौद्ध र ईसाई धर्मका गुरुहरु अग्रमोर्चामै सक्रिय छन् ।

बिभिन्न धार्मिक सम्प्रदायको बसोबास रहेको नेपालगन्जमा महामारीका विषयमा रहेको अनभिज्ञतालाई हटाउन धर्म गुरुको भूमिका महत्वपूर्ण रहँदै आएको छ । कोरोनाबिरुद्धको अग्रमोर्चामा रहेकी नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले धर्मगुरुको भूमिका अहिले निकै महत्वपूर्ण रहेको बताउँछन् ।
थापा भन्छिन्, ‘उहाँहरु हामीहरुसँगै कोरोनाबिरुद्ध लडिरहनुभएको छ । समाजलाई सचेत गराउन उहाँहरुले खेलेको भूमिका अतुलनिय छ ।’ मन्दिर, मस्जिदमा पुगेर स्वाब परीक्षण गराउन धर्म गुरुहरुको भूमिका महत्वपूर्ण छ । स्वाब परीक्षणपछि नेपालगन्जमा २४ जनालाई कोरोना संक्रमण देखिएको थियो । परीक्षण नगरिएको भए अझै भयावह हुने अवस्था थियो ।

धर्मगुरुहरु आफै नागरिकलाई सचेत गराउँदै हिँडेपछि अन्धबिश्वासका नाममा स्वास्थ्यकर्मीलाई असहयोग गर्ने वातावरण अन्त्य भएको छ । ‘नेपालगन्जको धार्मिक सद्भाव निकै राम्रो मानिन्छ । धर्मगुरुहरु नै हातेमालो गरेर हिँडेपछि आमनगारिकहरुले त्यसको अनुशरण गरिरहेका छन्,’ मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी बताउँछन् ।

धर्मगुरुहरु एकअर्काका धर्मबिरुद्ध हुने अनावश्यक प्रचारबाजीबिरुद्ध डटेर लाग्छन् । बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगीले मुस्लिम समुदायबिरुद्ध भएका अनावश्यक टिप्पणीबिरुद्ध बोल्दै भने, ‘कोरोना संक्रमणका नाममा कुनै धर्म, जाति र समुदायलाई जोडेर अनावश्यक हल्ला फैलाउन बन्द गर्नुपर्छ ।’

उनको यो भनाईले पनि धर्मगुरुहरु अहिलेको महामारीप्रति कति सजग र सचेत छन् भन्ने देखाउँछ । नेपालगन्जलाई सद्भावको शहर भनिन्छ । यद्यपी केही तत्वले कहिलेकाही सद्भाव बिथोल्न खोज्छन् । त्यस्तो अवस्था आउन नदिन अन्तरधार्मिक सञ्जाल बनाएरै धर्मगुरुहरु सामाजिक सद्भाव फैलाउन सक्रिय भइरहेका छन् ।

सामाजिक काममा आपत्त बिपद् पर्दा धर्मगुरुहरुलाई बोलाइन्छ । धर्मगुरुहरुबाट पनि कुनै नाईनास्ती हुँदैन । उनीहरु सामाजिक तथा धार्मिक सद्भाव कायम गर्ने कार्यमा सक्रिय हुन्छन् । खासगरी नेपालगन्जको मुस्लिम समुदायमा कोरोनाको संक्रमण धेरै देखिएपछि सामाजिक तथा धार्मिक सद्भाव विथोलिन नदिन धर्मगुरुहरु सचेत छन् ।

‘कुनै पनि रोगले जात, धर्म, समुदाय हेर्दैन । नेपालगन्जमा मुस्लिम समुदायमा संक्रमण अलि बढि नै देखिएपछि केही अपवाहहरु बाहिर आएसँगै हामी त्यस्ता अफवाहहरुलाई चिर्नका लागि सक्रिय भएका छौं,’ बागेश्वरी मन्दिरका महन्त योगीले भने, ‘अहिले कुनै जात, धर्म, समुदाय नभनेर रोकोनाविरुद्ध एकजुट हुन सन्देश दिइरहेका छौं ।’

धर्मगुरुहरुले भनेको मान्ने भएकोले अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चलाई विवाद समाधान गर्न मद्दत मिलेको छ । धर्मावलम्वीले आ–आफ्नो धर्मगुरुले भनेको कुरा इन्कार गर्न नसक्ने भएकोले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सजिलो भएको बागेश्वरी मन्दिरका मुल महन्थ चन्द्रनाथ योगीले बताए ।

उनले अन्तरधार्मिक सद्भावका लागि सबै धर्मगुरुले आ–आफ्ना अनुयायीलाई सम्झाईबुझाई गर्दै आएको बताए । धार्मिक हिंसा भड्किन थालेपछि वा अन्तर धर्मबीच विवाद भए प्रहरी, प्रशासनले समेत धर्मगुरुलाई गहार्ने गरेको बताउँदै उनले भने, ‘धार्मिक एवं सामाजिक सद्भावका लागि बाँकेका सर्वसाधारणहरु पनि निकै चनाखो हुने गरेका छन् ।’

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार १६:१३