सूचनाको शक्ति - The Power Of Information

        

इरानले आफ्नै जहाजमा क्षेप्यास्त्र प्रहार गरेपछि…

एजेन्सी । ओमानको खाडीमा सैन्य अभ्यासको क्रममा इरानले प्रहार गरेको एक क्षेप्यास्त्रले आफ्नै जहाजमा लाग्दा कम्तीमा एक नाविकको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । आइतवार जास्क तटनजिक उक्त घटना भएको हो । इरानको राजधानी तेहरानबाट १२ सय ७० किलोमिटर पर ओमानको खाडीमा सैन्य अभ्यासका क्रममा दुर्घटना भएको हो । क्षेप्यास्त्र कोनाराक नामक जहाजमा बज्रिएको हो ।

त्यो जहाज पनि अभ्यासकै क्रममा त्यहाँ तैनाथ थियो । इरानको सरकारी टेलिभिजनले यो एक दुर्घटना भएको जानकारी दियो । कोनाराक तारोको एकदम नजिक रहेको उसको भनाइ छ । कोनाराकलाई सन् २०१८ मा पूरै परिवर्तन गरिएको थियो र त्यसले समुद्रमा क्षेप्यास्त्र प्रहार गर्न सक्थ्यो । नेदरल्यान्ड्समा बनेको उक्त जहाज सन् १९८८ देखि प्रयोग गरिँदै आएको थियो । त्यसमा २० जना नाविक थिए ।

इरानले उक्त क्षेत्रमा नियमित अभ्यास गर्दै आएको छ । त्यो रणनीतिक रूपमा महत्वपूर्ण होर्मुजको जलप्रपात नजिक पर्छ । होर्मुज जलप्रपात हुँदै संसारको २० प्रतिशत तेल ओसारपसार गरिन्छ । इरानको सञ्चारमाध्यमले आफ्नो सैन्य अभ्यासको दुर्घटनाको खासै समाचार दिँदैन तर अहिलेको खबरले घटना गम्भीर रहेको संकेत दिन्छ । इरान र अमेरिकाबीच तनावको स्थिति रहेको बेलामा यो घटना भएको हो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार ११:५३