सूचनाको शक्ति - The Power Of Information

        

जुम्ल्याहाकी आमाको रिपोर्ट नेगेटिभ

दाङ । तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यादवको पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रयोगशालामा पठाइएकामा आइतबार साँझ रिपोर्ट आएको हो ।

यादवले शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कम तौल भएका जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन् । ती शिशुलाई नवजात अतिसघन कक्षमा राखेर उपचार गर्नुपर्ने भएपछि प्रादेशिक अस्पतालले तुलसी बाल अस्पतालमा सिफारिस गरेको थियो । अहिले जुम्ल्याहा दिदीबहिनीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । यादव तुलसीपुरको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

केही दिनअघि भारत, बलरामपुरस्थित आफ्नो माइतीघरबाट पैदल हिँडेर तुलसीपुर उपमहानगरपालिका–१३ मा रहेको घरमा उनी आएको थाहा पाएपछि स्थानीयवासीले उपमहानगरपालिकालाई खबर गरेका थिए । त्यसलगत्तै उनलाई तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा लगिएको थियो । यादवको यसअघि गरिएको आरटिडीको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार ११:३५