सूचनाको शक्ति - The Power Of Information

        

यार्सागुम्बा संकलनमा रोक

रुकुमपूर्व । वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा सङ्कलनमा यस वर्ष रुकुम (पूर्व) मा रोक लगाइएको छ । यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सा संकलनमा रोक लगाउनुपरेको पुथाउत्तरगङ्गा गाउँपालिकाले जनाएको छ ।

भीडभाडमा कोरोना संक्रमणको जोखिम उच्च हुने कारण यार्सा संकलनमा रोक लगाइएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए । जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सा सङ्कलन यस वर्ष रोक्नका लागि दलीय संयन्त्र समितिले गाउँ कार्यपालिकालाई यसअघि नै प्रस्ताव पेश गरेको थियो ।

गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा यार्सा पाइन्छ । विगत वर्षमा यार्सा व्यवस्थापन समितिले यार्सा संकलनका लागि जेठ पहिलो साता खुला गथ्र्याे। गाउँपालिका १, २ र ३ को पानीढल, फूलबारी अरविजा, जंगला, पूपाल, पूर्वाङ, भित्रीवन, उङ्ला, निम्कुलगायत ठाउँमा यार्सागुम्बा पाइने गरेको उपाध्यक्ष शाहीले जानकारी दिए ।

यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोत यार्सागुम्बाबाट एक याममा स्थानीयवासीले वर्षभरिको आवश्यक घर खर्च, पढाइलगायतका लागि आम्दानी गर्छन् । सङ्कलन याममा एक महिनासम्म बुकीमै बिताउने उनीहरूले प्रतिपरिवार यार्सा टिपेरै न्यूनतम ३० हजारदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । रासस

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार ०९:०९