सूचनाको शक्ति - The Power Of Information

        

भारतीय मिडिया लेख्छन्, ‘कालापानीमा भारतको बलियो उपस्थिति चाहिन्छ’

काठमाडौं । भारतले चीनको पदचिन्ह (रणनीति) नजिकबाट नियाल्नका लागि सामरिकरुपमा कालापानी क्षेत्रलाई अत्यन्तै अहमरुपमा लिएको छ । लिपुलेक भएर मानसरोवर जोड्ने बाटो निर्माणलाई भारतीय सञ्चार माध्यमहरुले ठूलो सामरिक सफलताका रुपमा ब्याख्या गरिरहेका छन् । बाटो निर्माणले कैलाश–मानसरोवरको अध्यात्मिक बाटो सुगममात्रै नभएर चीनसँग सामरिक सन्तुलन पनि कायम भएको उनीहरुको ठहर छ ।

‘नवभारत टाइम्स’ले नेपाल र चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा बलियो उपस्थिति भारतका लागि अत्यन्त जरुरी रहेको उल्लेख गरेको छ । उसले ‘बोर्डर रोड अर्गनाइजेसन’ ले हिमालयको दुर्गम टाकुरामा सडक निर्माण गरेको सफलतालाई इतिहासले सम्झिरहने पनि समाचारमा लेखेको छ ।

चीनले धेरै अगाडि नै आफ्नो सीमासम्म सडक निर्माण गरिसकेको उल्लेख गर्दै ‘नवभारत टाइम्स’ ले भनेको छ, ‘हिमालय काटेर सीमासम्म संरचना निर्माणका लागि चीनले धेरै लगानी गरिसकेको छ । त्यसलाई हेरेर भारतका लागि पनि सीमामा सैन्य सन्तुलन कायम राख्न उपाय खोज्न जरुरी छ । भारतसँगको मित्रताका बाबजुद पनि हालैका दिनमा नेपाल र चीन नजिकिएका छन् । यस्तो अवस्थामा कालापानीमा बलियो उपस्थिति भारतका लागि अझ धेरै आवश्यक छ ।’

१९६२ को युद्धपछि कालापानी क्षेत्रमा इन्डो तिब्बतीयन बोर्डर पुलिस (आइटीबीपी) गस्ती (पेट्रोलिङ) गर्दै आएको भन्दै समाचारमा भारतले दस्तावेजहरुबाट कालापानीको उद्गमस्थल कालापानी पूर्बमा भएको प्रमाणित गरिसकेको दाबी गरिएको छ । सडक सञ्चालनमा आएपछि भारतीय थल सेनाका लागि रासन र युद्ध सामग्री चिनियाँ सीमासम्म पुर्याउन सहज भएको भन्दै समाचारमा लद्दाख नजिकै अक्साई चीनसँग जोडिएको सीमामा प्रायःजसो चिनियाँ सैनिकहरु घुसपैठ गर्दै आएका उल्लेख छ ।

‘यदि तुलना गरियो भने लिंक रोड निर्माणपछि लिपुलेक र कालापानी क्षेत्रमा भारत सामरिकरुपमा भारी पर्न सक्छ । दुई वर्षअघि चिनियाँ सेनाले पिथौरागढको बाराहोतीमा घुसपैठ गर्ने प्रयास गरेको थियो । यो लिंक रोड बने छि चिनियाँ सेनाले यस्तो दुष्प्रयास गर्न सक्ने छैन ।’ नेपाल र तत्कालीन ब्रिटिस–इन्डियाबीच सन् १९१६ मा भएको सुगौली सन्धिमा काली (महाकाली) नदीको पूर्वी भाग नेपाल हुने उल्लेख गरिएको उदाहरण दिँदै ‘नवभारत टाइम्स’ले अंग्रेज सर्वेक्षकहरुले काली नदीको उद्गमस्थल अलगअलग बताउन सुरु गरेको दाबी गरेको छ ।

‘नेपाल र ब्रिटिस इन्डियाबीच १९१६ मा सुगौली सन्धि भएको थियो । यो सन्धिमा काली या महाकाली नदीको पूर्बको क्षेत्र नेपाल हुने तय भएको थियो । पछि अंग्रेज सर्वेक्षकहरुले काली नदीको उद्गम स्थान अलगअलग भन्न सुरु गरे । खासमा महाकाली नदी कयौं साना धाराहरु मिलेर बनेको छ र यि धाराहरुको उद्गम अलगअलग छन्,’ समाचारमा भनिएको छ, ‘नेपालको भनाइ छ कि कालापानी पश्चिममा जुन उद्गम स्थान छ त्यही सही हो र यसै कारण पूरै क्षेत्र उसको हो । अर्को तिर भारतले दस्तावेजको सहारामा साबित गरिसकेको छ कि काली नदीको मूल उद्गम कालापानीको पूर्बमा हो ।’

नेपालले सधै स्पष्टरुपमा सुगौली सन्धिअनुसार कालीनदीको पूर्वको क्षेत्र लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो भएको बताउँदै आएको पनि समाचारमा उल्लेख छ । ‘नेपाल सरकारले कयौंपटक यसअघि र हालैका दिनमा कूटनीतिक तरिकाले यसका बारेमा भन्दै आएको छ,’ समाचारमा उल्लेख छ, ‘सुगौली सन्धिअनुसार नेपाल कालापानीलाई आफ्नो भूमि मान्दछ । गत वर्ष आधिकारिकरुपमा नयाँ नक्सा जारी गर्दा पनि नेपालले आपत्ति जनाएको थियो । कालापानी आफ्नो भूभाग भएको बताएको थियो । कालापानी ३७२ वर्ग किलोमिटरमा फैलिएको क्षेत्र हो । यसलाई भारत–चीन र नेपालको ट्राई जक्शन पनि भनिन्छ ।’

 

#नवभारत टाइम्स

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार ०७:३५