
सिक्टा सिँचाइ आयोजनाको नहर । फाइल तस्वीर
बाँके । जिल्ला प्रशासन कार्यालयले बाहिरी जिल्ला जाने ढुवानीका साधनलाई पास नदिँदा सिक्टा सिँचाइ योजनामा निर्माण सामग्री अभाव भएको छ । राष्ट्रिय गौरवका योजनाको काम अगाडि बढाउने मन्त्रिपरिषदको निर्णयअनुसार निर्माणको काम सञ्चालन गरे पनि ढुवानीका साधनलाई पास नदिँदा निर्माण सामग्री अभाव भएको छ ।
आयोजना प्रमुख लोकबहादुर थापाका अनुसार आयोजनामा प्रयोग हुने बाहिरी जिल्लाबाट ल्याउनु पर्ने बाध्यता रहेको र ढुवानीका साधन बाहिरी जिल्ला जान नसक्दा निर्माण सामग्री अभाव भएको छ । ‘नहर निर्माणमा प्रयोग हुने छडको मोटो डण्डी बाँकेमा पाइँदैन,’ उनले भने, ‘बाहिरी जिल्लाबाट ल्याउन खोज्दा प्रशासनले अर्को जिल्लामा जानका लागि ढुवानीका साधनलाई पास दिन मान्दैन ।’
ढुवानीको साधनलाई अर्को जिल्ला जाने पास दिन आफ्नो अधिकारमा नपरेको प्रमुख जिल्ला अधिकारीले बताएको आयोजना प्रमुख थापाले बताए । यस्तै, योजनामा काम गर्ने मजदुरको पनि अभाव भएको छ । योजनामा काम गर्ने प्रायः मजदुर बर्दिया र कैलालीका भएको डिभिजन इन्जिनियर समेत रहेका आयोजना प्रमुख थापाले बताए ।
‘मजदुर ल्याउने अनुमति दिएको भए हामी सामाजिक दूरी कायम हुने गरी कामदार परिचालन गर्ने थियौँ,’ उनले भने, ‘मजदुर नभएकाले सोँचे जस्तो गरी काम अगाडि बढाउन सकिएको छैन ।’ मजदुर र निर्माण सामग्रीको जोहो गर्दै योजना निर्माणको काम सुरु गरेको छ । लकडाउन र सामाजिक सुरक्षामा असर नपर्ने गरी काम अघि बढाइएको छ । उनले पूर्वी नहर र पश्चिम नहरको डुडुवा शाखालगायत अन्य शाखाको काम शुरु भएको बताए ।
सत्यपाटी ।