सूचनाको शक्ति - The Power Of Information

        

पछिल्लो २४ घण्टामा १,३१६ कोरोनाको परीक्षण

काठमाडौं । नेपालमा ७३ हजार ५५५ जनाको कोरोना परीक्षण भएको छ । पीसीआरबाट १६ हजार ८९८ र ५६ हजार ५५० आरडिटीबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३१६ को परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

हालसम्म क्वारेन्टाइनमा १३ हजार ६२५ र आइसोलेसनमा १६४ जना छन् । ३४ हजार २५७ ले स्वमूल्याङ्कनमार्फत कोरोना जाँच गरेको मन्त्रालयले जनाएको छ । हालसम्म ११० जना कोरोना संक्रमित छन् । त्यसमध्ये ७८ पुरुष र ३२ महिला छन् । ३१ जना निको भएर घर फर्किँदा ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

निको भएकाले कोरोना सर्दैन

कोरोना संक्रमणपछि निको भएर घर फर्किएकालाई मानवीय व्यवहार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । निको भएर फर्किएकालाई विभेद भएको पाइएको भन्दै मन्त्रालयले सचेत गराएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितलाई समाजमा विभेद गरिएको जानकारी आएको बताए ।

‘निको भएर घर फर्किएकालाई अलग राखेको सुनेका छौँ । घरमा, समाजमा छिर्न नदिने गरेको सुनेका छौँ,’ उनले भने । निको भएका संक्रमितले कोरोना सार्ने कुरा गलत भएको देवकोटाले बताए । ’निको भएकाले रोग सार्न सक्दैनन् । समाजमा चलेको ह्ल्ला मिथ्या हो । आधिकारिक जानकारी लिन अनुरोध गर्छौँ,’ देवकोटाले भने ।

हालसम्म ११० जना संक्रमित छन् । ३१ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाले बालबालिकालाई बालमैत्री आइसोलेसनमा राख्न अनुरोध पनि गरेका छन् । नेपालमा दुई महिनाको शिशुमा पनि संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार १७:१०