सूचनाको शक्ति - The Power Of Information

        

चिनियाँ मिडियाले गल्ती सच्याउँदै भन्यो, ‘सगरमाथा नेपाल–चीन सीमा’

काठमाडौं । चिनियाँ सञ्चारमाध्यमले यसअघि सगरमाथा चीनमा रहेको दाबी गरेकामा अहिले सच्याएको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले यसअघिको गल्ती सच्याउँदै भन्यो, ‘सगरमाथा नेपाल–चीन सीमामा छ ।’

चाइना ग्लोबल टेलिभिजन नेटवर्कले एकघण्टा अघि गरेको ट्विटमा भनिएको छ, ‘नेपाल–चीन सीमामा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्मा हिमालको आकाशमा १ मेको शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’

यसअघि २ मेमा सीजीटीएनले भनेको थियो, ‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’

यसअघि सगरमाथाको उचाइ सर्भे र म्यापिङका लागि चीनले ५३ सदस्यीय सर्भेयरको टोली सगरमाथाको चुचुरोमा पठाउने बताएको थियो । लामो समयदेखिको सगरमाथाको उचाइ सम्बन्धी विवादलाई अन्त्य गर्न चीनले सगरमाथाको चीनतर्फको बेसक्याम्पमा २ मार्चदेखि प्राविधिक तयारी थालेको हो ।

चीनले सगरमाथाको उचाइ निर्क्योल गर्न बेइडोउ नेभिगेस स्याटेलाइट प्रणाली र चिनियाँ सर्भे उपकरणहरुको प्रयोग गरिने साउथ चाइना मर्निङ पोस्टले जनाएको थियो । नेपालमा सगरमाथा भनिएको र तिब्बतमा कोमोलोङ्मा भनिएको यो हिमाल चीन र नेपालको सीमा क्षेत्रमा पर्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार नेपाल र चीनबीच सगरमाथाको उचाइ चट्टान भएसम्मको भागलाई मान्ने अथवा हिउँको चुचुरोलाई मान्ने भन्ने विषयमा विवाद छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार १६:३३