सूचनाको शक्ति - The Power Of Information

        

कोरानाले विथोलियो मानसरोवर यात्रा

बाँकेको होटल तथा धार्मिक पर्यटन धरायासी

चीनको तिब्बतमा रहेको पवित्र धार्मिकस्थल कैलाश मानसरोवर (माथि), जहाँ नेपालको डोल्पा जिल्ला हुँदै जानुपर्छ । मानसरोवर तीर्थाटन जान गत बर्ष नेपालगन्ज विमानस्थलमा जहाज चढ्दै गरेका यात्रुहरु (तल) ।

चीनको तिब्बतमा रहेको पवित्र धार्मिकस्थल कैलाश मानसरोवर (माथि), जहाँ नेपालको डोल्पा जिल्ला हुँदै जानुपर्छ । मानसरोवर तीर्थाटन जान गत बर्ष नेपालगन्ज विमानस्थलमा जहाज चढ्दै गरेका यात्रुहरु (तल) ।

बाँके । मानसरोवर चीनमा पर्छ, त्यहाँ पुग्ने पर्यटकले नेपालको बाटो प्रयोग गर्छन् । कैलाश मानसरोवरसँग भाग्य जोडिएपछि यतिबेला नेपालगन्जमा पर्यटकको ओइरो लाग्थ्यो । पर्यटनसँग सम्बन्धित अनेक व्यवसाय चम्किन्थे । लाग्थ्यो, नेपालगन्जमाथि कैलाशपति महादेवको वरदान बर्षिएको छ । मानसरोवर पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य प्रवेशद्धार नेपालगन्ज नै हो ।

जब कैलाश मानसरोवरसँग नेपालगन्जको भाग्यको तार जोडियो, अनि यहाँको होटल व्यवसाय फस्टाउन थाल्यो । कसको भाग्य कतिबेला चम्किन्छ कसैलाई थाहा हुँदैन । भाग्यका बारेमा कसैलाई पनि पूर्व जानकारी हुँदैन । कुनै पनि बेला भाग्योदय हुनसक्छ, भाग्य चम्कन सक्छ । यस्तै एकाएक भाग्य चम्किएको ठाउँ हो, नेपालगन्ज । नेपालगन्जको भाग्य चम्किनुको अर्काे कारण हो, मुगुको राराताल ।

नेपाल र भारत व्यापारिक नाका नेपालगन्ज हुँदै तिब्बतको कैलाश मानसरोवर जाने सिजन सुरु भइसकेको छ । होटल व्यवसायीहरुले कमाउने खास सिजन पनि यही हो । हिन्दू धर्मावलम्बी पवित्र धार्मिकस्थल तिब्बतको कैलाश मानसरोवर जाने गर्छन् । सिजन सुरु भएसँगै यतिबेला नेपालगन्ज हुँदै मानसरोवरतर्फ प्रस्थान गर्ने गर्थे । ठूलोे संख्यामा मानसरोवर जाने पर्यटकहरु नेपालगन्ज भित्रिने उपयुक्त समय पनि यही हो ।

मानसरोवर तीर्थाटनका लागि जानेमा अधिकांश भारतीय यात्रु हुन्थे । समुद्री सतहबाट करिब ६ हजार पाँच सय मिटर उचाइमा रहेको छ । मानसरोबर ताल कैलाश पर्वतको फेदी हो । कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्छ । साधारणतया ४० देखि ७० बर्ष उमेरका भारतीय पर्यटकहरु कैलाश पर्वत जाने गर्छन् । पछिल्लो समयमा नेपालीहरु पनि कैलाश मानसरोवर यात्रामा जाने गरेका छन् ।

मानसरोवर चीनमा परेपछि पर्यटकले त्यहाँ पुग्दासम्म नेपालमा खर्च गर्छन् । अधिकांश पर्यटकहरु नेपाल भएर मानसरोवर जाने हुँदा उनीहरु ९० प्रतिशत रकम नेपालमै खर्च गर्छन् । यो मानसरोवर यात्राको उपयुक्त मौसम हो । मानसरोवर यात्राको यही मौसमी ‘टेको’ भारतीय पर्यटकले धानेका हुन्थे । तर, यसवर्ष भने कोरोना भाइरसका कारण मानसरोवर यात्रामा जाने सबै बुकिङ रद्द भएका छन् ।

भारतीय धार्मिक पर्यटक नेपालगन्ज–सिमकोट हुँदै कैलाश मानसरोवर जाने झण्डै १० हजार बुकिङ रद्द भएको होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले बताए । मानसरोवर जाने उपयुक्त समय हरेक बर्षको वैशाख महीनाको मध्यदेखि भदौ महीनासम्म (मे महीनादेखि सेप्टेम्बर महीनासम्म) भएकाले बेमौसममा पर्यटकको रौनक नेपालगन्जमा देखिन्थ्यो । यस वर्ष भारतीय धार्मिक पर्यटकले सबै बुकिङ रद्द गरिसकेको उनको भनाई छ ।

‘मानसरोवर–कैलाश पर्वत भ्रमणको रुची रहेकोले यही मौसमको ‘टेको’ भारतीय पर्यटकले धानेका हुन्थे,’ अध्यक्ष काफ्लेले भने, ‘अहिले भारतीय पर्यटकहरुको ओइरो लाग्न समय हो, तर सुनसान छ ।’ उनले कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी होटल व्यवसायमा परेकोले सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने बताउँदे भने, ‘मानसरोवर यात्रामा जाने सबै बुकिङ रद्द भइसकेकाले होटल व्यवसाय संकटमा परेको छ ।’

नेपालगन्जलाई ट्रान्जिट बनाएर कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल लगायतमा जाने स्वदेशी, भारतीय र तेस्रो देशका पर्यटकलाई लक्षित गरेर बाँकेमा एकपछि अर्को गर्दै धेरै स्तरीय होटल बाँकेमा स्थापना भएका छन् । तीमध्ये दुईवटा पाँचतारे, तीनवटा चारतारे, तीनवटा तीनतारे, सातवटा डिलक्स, १५० जति स्तरीय बजेटका र अरू सबै सामान्य होटल रहेका छन् ।

कोरोनाका कारण बाँकेको होटलको व्यवसाय शून्यमा झरेको नेपालगन्जमा रहेको चारतारे होटल सिद्धार्थ भ्युका प्रबन्ध निर्देशक केशव न्यौपानेले बताए । वैशाखको सुरुबाटै मानसरोवर यात्रा प्रारम्भ हुने भए पनि यसवर्ष भारतीय धार्मिक पर्यटकले सबै बुकिङ रद्द गरेकाले होटल व्यवसाय संकटमा परेको उनको भनाई छ । यही अवस्था रहेका होटलमा कार्यरत कर्मचारीहरु कटौति गर्न सक्ने अवस्था आउने व्यवसायीहरुको भनाई छ ।

कोरोना भाइरसको त्रासले बाँकेमा ८० प्रतिशतभन्दा बढी व्यावसाय घटेको होटल व्यवसायी संघ बाँकेले जनाएको छ । भारतीय पर्यटकले गराएको बुकिङ पनि सबै रद्द गरेकोले हाल आएर बाँकेमा होटलको व्यवसाय ८० प्रतिशतभन्दा बढी घटेको संघका अध्यक्ष भीम कडेलले बताए । उनले भने, ‘बाँकेको होटल व्यवसायलाई कोरोनाको त्रासले ध्वस्त नै पारेको छ । यसका लागि सरकारले राहत प्याकेज नै ल्याउनुपर्छ ।’

संघले कोरोनाको त्रास सकिएपछि बाँकेका होटल व्यवसायीले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । अध्यक्ष कँडेलले कोरोनाको त्रासले संकटमा परेको होटल व्यवसायलाई फेरि चम्काउन यहाँका व्यवसायीले विभिन्न अभियान सञ्चालन गर्ने योजना बनाएको बताए । यसका लागि होटल व्यवसायीबीच छलफल भइरहेको समेत उनले जानकारी दिए ।

अध्यक्ष कँडेलले कोरोनाको त्रास सकिएलगत्तै भारतीय पर्यटकलाई आकर्षित गर्न नेपालगन्ज–दिल्ली, नेपालगन्ज–लखनउ हवाई उडान र नेपालगन्ज–पोखरा हवाई उडान सुरु गराउन विशेष जोड दिइने तथा नेपालगन्जमा स्ट्रिट फुड फेस्टिभल लगायत बागेश्वरी मन्दिरको दर्शन गरौँ, रारा जाऔँ तथा बाँके बर्दिया निकुञ्ज घुमौँ जस्ता अभियान चलाइने बताउँदै महामारीबाट जोगिन सरकारले गरेका सबै निर्णयको स्वागत गरेका छन् ।

संघले हालको अवस्थामा होटल व्यवसाय अत्यधिक सङ्कटमा परेकोले सरकारले तत्काल विशेष राहत घोषणा गरेर कम्तीमा छ महिनाको ब्याज मिनाहा गर्नुपर्ने, चालू आर्थिक वर्षको करमा पनि विशेष छुट दिनुपर्ने र विद्युतको डिमान्ड शुल्कमा पूर्णरुपमा छुट दिनुपर्ने लगायतका मागहरु सरकारसमक्ष अघि सारेको छ । मानसरोवरको यात्रा यसबर्ष शुन्यमा झरेकोले बाँकेको होटल व्यवसायले ठूलो संकटमा परेको उनको भनाई छ ।

नेपालगन्जसँगै जोडिएको शहर कोहलपुरमा सेन्टर प्लाजा होटल, नेपालगन्जमा सोल्टी, सिद्धार्थ भ्यूू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट कृष्णा, कलपत्रुजस्ता ठूला र सुविधा सम्पन्न होटलसहित करिब दुई दर्जन साना होटल थपिएका छन् । यी होटलमा दैनिक एक हजार पर्यटकहरुलाई स्तरीय आतिथ्यता दिनसक्ने क्षमता छ । मानसरोवरको सिजन सुरु हुनै लाग्दा कोरोना भाइरसको संक्रमण फैलिएसँगै बाँकेका होटल व्यवसायीहरु निराश छन् ।

गतबर्ष झण्डै २५ हजार पर्यटकले कैलाश मानसरोवर धार्मिक यात्रा गरेको अनुमान छ । यीमध्ये करिब आठ हजार पर्यटक काठमाडौंबाट हवाईमार्ग हुँदै नेपालगन्ज आएको र बाँकी यात्रु लखनउबाट रुपैडिया हुँदै नेपालगन्ज आएको अनुमान छ । बैशाखदेखि असोजसम्म काठमाडौं–नेपालगन्ज हवाई उडानको संख्या दोब्बर हुने र नेपालगन्जबाट हुम्लाको सिमीकोटका लागि दैनिक १६ वटासम्म उडान हुने गरेका थिए ।

कैलाश मानसरोवर जाने भारतीय तिर्थालुहरुको मुख्य रुटका रुपमा नेपालगन्जको भाग्य चम्कन थालेकै बेला यहाँको होटल तथा पर्यटन क्षेत्रमा कोरोना भाइरसले ठूलो दशा निम्त्याएको उनको भनाई छ । भारतीय तिर्थालुहरु विमानबाट काठमाडौं हुँदै नेपालगन्ज आइपुग्छन् । स्थलमार्गबाट आउनेहरु रुपैडिहा नाका हुँदै नेपालगन्ज छिर्छन् । कैलाश मानसरोवर हिन्दू, वौद्ध तथा जैन धर्मावलम्बीका लागि पवित्र तिर्थस्थल हो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार १४:१९