सूचनाको शक्ति - The Power Of Information

        

भारतले लिपुलेक अतिक्रमण गरेकै बेला सगरमाथामा चीनको दावी !

काठमाडौं । भारतले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवार जाने सडक बनाएकोमा देशभर विरोध भइरहेको छ । नेपाल र भारतीय पक्षले विज्ञप्ति जारी गरेर सडक निर्माण भएको क्षेत्र आफ्नै भूमि रहेको दाबी गरेको छ । यसैबीच चिनियाँ संचार माध्यमले सगरमाथा आफ्नो भूमिमा पर्ने दाबी गर्दै समाचार सम्प्रेषण गरेका छन् । मे २ मा प्रकाशित समाचार हाल नेपाली सामाजिक संजालमा भाइरल भइरहेको छ ।

चीनको एक टोली सगरमाथाको उचाइ नाप्न सगरमाथा क्षेत्रमा पुगिरहेको बेला चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो । उचाइ नाप्न गएका टोलीहरुबाट प्राप्त तस्विरहरु प्रकाशित गर्दै सीजीटीएनले ‘चोमोलुङ्गम’ चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने उल्लेख गरेको हो । सगरमाथालाई तिब्बती भाषामा चोमोलुङ्ममा भनिन्छ । सगरमाथाको उत्तरतिर चीनमा पर्छ र सोही क्षेत्रबाट नै केही दिन अगाडिबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम भएको हो ।

चिनियाँ मिडियाले सगरमाथा तिब्बती क्षेत्रमा परेको समाचार प्रकाशन गर्दा सामाजिक संजालमा यसको विरोध भइरहेको छ । उनीहरुले सीजीटीएनलाई गल्ती सच्याउन आग्रह गरेको छ । त्यसो त लकडाउनको बेलामा सगरमाथाको उचाइ नाप्नु र लिम्पियाधुरामा सडक बनाउनुलाई दुवै देशको रणनीतिक चालका रुपमा समेत हेरिएको छ । लिम्पियाधुरामा सडक बनाउन चीनको सहमति छ । २०७२ सालमा भूकम्पका कारण नेपाल अस्तव्यस्त बनेकै बेला भारतले चीनसँग नेपाली भूमि लिम्पियाधुरा हुँदै सडक निर्माण गर्ने सहमति गरेको थियो ।

उक्त सडक खण्डलाई द्वीपक्षीय व्यापारिक मार्ग बनाउने सहमति गरिएमा नेपालले विरोध जनाएको थियो । केही महिनाअघि मात्रै भारतले राजनीतिक नक्सामा त्यही सडक खण्ड समेटेर आफ्नो राजनीतिक नक्सा जारी गर्यो । हाल कोरोनाका कारण लकडाउनमा रहँदा दुवै छिमेकी मुलुकबाट नेपालको क्षेत्रमा भइरहेकोमा धेरैले संदेह व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार १३:१३