सूचनाको शक्ति - The Power Of Information

        

बत्तीस सय तिरेर महाकाली तरे, बीच बाटोमै अलपत्र

फाइल तस्वीर

फाइल तस्वीर

बैतडी । दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (रु तीन हजार २००) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र मुगुको छायाँनाथ रारा नगरपालिकाका सागर रोकाया रहेका छन् ।

भारतको पिथौरागढमा मजदुरी गर्दै आएका उनीहरू शुक्रबार राति महाकाली नदीमा ट्युबमार्फत बैतडी पुगेका हुन् । महाकालीमा ट्युब तरेपछि सदरमुकाम गोठलापानी पुगेपछि लकडाउनका कारण अलपत्र परेको मुगुका सागर रोकायाले बताए । पिथौरागढबाट हिँडेर सीमानाका पुगेका उनीहरू आजससम्म पनि भोकै रहेका छन् ।

‘गोठलापानीमा अहिले सडकपेटीमा बसिररहेका छौँ, लकडाउनले यहाँ खानबस्नसमेत समस्या भएको छ,’ उनले भने, ’खानबस्नका साथै पानी परिरहेकाले बस्नसमेत निकै गाह्रो भएको छ ।’ कमाएको पैसा सबै सकिएपछि भोकै रातदिन काट्नुपरेको सागरको भनाइ छ । उद्धारका लागि प्रशासन र सम्बन्धित पालिकालाई गुहार्दासमेत केही पहल नभएको उनीहरूको गुनासो छ ।

स्थानीय प्रशासनसँग घरसम्म पुर्याउन भनेको भए पनि आफ्नै पैसाले जाने भएपछि मात्रै पुर्याउन सकिने नत्र जहाँ हुनुहुन्छ त्यही बस्न भनेको दैलेखका जनक देवकोटाले बताए । तीन महिनाअघि रोजगारीका लागि पिथौरागढ पुगेका उनीहरू डेढ महिनादेखि लकडाउन हुँदा समस्या भएपछि नेपाल फर्किएका हुन् । कमाएको सबै पैसा सकिएले आफ्नै पैसाले जान सकिने अवस्था नरहेको दैलेखका रत्न रिजालले दुःखेसो पोखे ।

उनले भने, ‘कमाएको रु चार हजार रहेकामा रु दुई हजार भारु ट्युब तर्दा सकियो, अब रु ८०० मात्रै बाँकी छ कसरी घर पुग्नु ।’ यता प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने अलपत्र मजदुरको कसरी उद्धार गर्ने विषयमा छलफल जारी रहेको बताए । उनले भने, ‘अलपत्रको उद्धारका लागि सम्बन्धित पालिकाले पहल गर्नुपर्छ ।’ यसअघि बिहीबार र शुक्रबार गरी सुदूरपश्चिमका विभिन्न जिल्लाका २२ जनाको बैतडीबाट उद्धार गरिएको थियो । रासस

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार ०९:५९