सूचनाको शक्ति - The Power Of Information

        

आफ्नै भूमिमा सडक बनाएको भारतको दाबी

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोडने गरी भारतले निर्माण गरेको विवादित सडक । तस्वीर : रासस

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोडने गरी भारतले निर्माण गरेको विवादित सडक । तस्वीर : रासस

काठमाडौं । लिपुलेकमा नयाँ सडक उद्घाटनपछि देखिएको विवादबारे भारतले औपचारिक धारणा बाहिर ल्याएको छ । भारतले औपचारिक धारणा सार्वजनीक गर्दै शुक्रबार उद्घाटन गरेको कैलाश मानसरोवरसम्म पुग्ने सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ ।

शनिबार नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमी लिपुलेक हुँदै सो सडक निर्माण गरेको भनी बिरोध जनाएलगत्तै भारतले नेपाली भूमी प्रयोग नगरिएको दाबी गरेको हो । ‘उत्तराखण्डको पिथोरागढ जिल्लास्थित हालै उद्घाटन गरिएको सडक खण्ड भारतीय भूमीभित्रै पर्छ,’ भारतको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सो सडकले कैलाश मानसरोवर यात्रामा जाँदा तिर्थयात्रीले प्रयोग गर्ने गरेको पूर्ववत् कायम रहेको रुटकै आधारमा बनाइएको हुँदा त्यो भारतीय भूमीमैं पर्ने तर्क भारतले गरेको छ । त्यसैलाई अहिले तिर्थयात्रीको सहजताका लागि गाडी चलाउन मिल्ने मात्र बनाइएको जिकिर भारतीय पक्षले गरेको छ ।

नेपाल र भारतले सीमासम्बन्धी विषयहरुलाई सल्टाउनकाा लागि संयन्त्र तयार गरेको बताउँदै, थाँती रहेका विषयलाई कुटनीतिक वार्ताबाटै सुल्झाउन भारत प्रतिबद्ध रहेको बताएको छ । दुवै पक्ष सचिवस्तरीय वार्ताको मिति तय गर्ने प्रक्रियामै रहेको बताउँदै भारतको विदेश मन्त्रालयले जारी कोभिड–१९ को समस्या समाधान भएपछि सो मिति तय गरी बैठक बस्ने बताएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार ०९:४९