सूचनाको शक्ति - The Power Of Information

        

ओबामाद्वारा आफ्ना उत्तराधिकारी ट्रम्पको कडा आलोचना

न्यूयोर्क । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्ना उत्तराधिकारी डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरेको प्रयास अपर्याप्त भएको भन्दै कडा आलोचना गरेका छन् । एक निजी कन्फ्रेन्स कलमा ओबामाले अमेरिकाले हाल महामारी नियन्त्रणका लागि गरेका कामहरु ‘स्पष्टरुपमा अस्तव्यस्त विपद’ जस्तो रहेको बताएका हुन् ।

पूर्व राष्ट्रपति ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनको पक्षमा आफूले बिस्तारित भूमिका निर्वाह गर्न चाहेको पनि बताएका छन् । ओबामाले यसअघि नै राष्ट्रपति उम्मेदवारीमा आफ्नो समर्थन बाइडेनलाई रहेको घोषणा गरिसकेका छन् । बाइडेन ओबामा कार्यकालमा उपराष्ट्रपति थिए ।

आफ्ना पूर्व कर्मचारी तथा सहयोगीहरुसँगको कन्फ्रेन्स कलको क्रममा ओबामाको पछिल्लो टिप्पणी आएको अमेरिकी सञ्चार संस्था सिएनएनले जनाएको छ । ओबामाले आफ्ना पूर्व कर्मचारीहरुलाई बाइडेनको चुनावी अभियानमा काम गर्न आग्रह गरेका छन् । डोनाल्ड ट्रम्प प्रशासनले अपनाएको रणनीतिका कारण कोरोना भाइरसको महामारी थप भयानक बनेको ओबामाले बताएका हुन् ।

उनले भनेका छन्, ‘सरकारले अति बलियो र राम्रो रणनीतिका साथ काम गरेको भए पनि कोरोना भाइरसको महामारी खराब नै हुने थियो । तर अहिलेको प्रशासनको प्रयास पर्याप्त नहुँदा त्यसलाई थप खराब बनाएको छ ।’ वर्तमान प्रशासनले महामारीमा पनि आफ्नो ‘स्वार्थ’ अनुकुलको मुनाफा खोजेका कारण समस्या विकराल बनेको ओबामाको भनाई उद्धृत गर्दै कन्फ्रेन्स कलमा सहभागीले बताएका छन् ।

ओबामाले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लीनमाथिको आपराधिक अभियोग खारेज गरिएको घटनाको पनि कडा आलोचना गरेका छन् । अमेरिकी न्याय विभागले सन् २०१६ को चुनावमा ट्रम्पलाई फाइदा हुने गरी रुसले गरेको भनिएको दखलमा सहयोगीको भूमिका निर्वाह गरेको अभियोग लागेका फ्लीनमाथिको आरोप खारेज गरेको थियो ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १३ लाख ९ हजारभन्दा धेरै छ । यस्तै कोभिड–१९ बाट अमेकिरामा ७८ हजार ७०० भन्दा बढीको ज्यान गएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार ०९:३०