सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश १ मा कोराना संक्रमित धेरै

काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएका १०९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेका छन् । शनिबारसम्म संक्रमितको संख्या १०९ पुग्दा प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर २ मा ३१ र प्रदेश नम्बर ५ मा ३० जनामा संक्रमण देखिएको छ ।

बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । शुक्रबारमात्रै कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत महिला ३५ दिनपछि डिस्चार्ज भएकी छन् ।

प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य सरकारले तिव्र पारेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७४१ वटा परीक्षण भएका छन् । अहिलेसम्म पिसिआर विधिबाट १६ हजार ३०९ र आरडिटी विधिबाट ५५ हजार ९३० जनाको कोरोना परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८९० र बागमती प्रदेशमा मा ९ हजार १०५ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ हजार ३७७, प्रदेश नम्बर ५ मा ६ हजार ६३८, कर्णाली प्रदेशमा ६ हजार १७४ र सूदुरपश्चिममा १४ हजार ६९१ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

अहिले देशभरि विभिन्न अस्पतालमा आइसोलेसनमा १४३ जना उपचाररत रहेका छन् । उपत्यकामा २ र बाहिर १४१ जना शंकास्पद विरामी उपचाररत रहेको उनले बताए। देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५९२ जना रहेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १९:३५