सूचनाको शक्ति - The Power Of Information

        

चार जिल्लाबाट गहुँ खरीद गर्दै खाद्य कम्पनी

काडमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तराईका दुई जिल्लामा किसानबाट गहुँ खरीद गर्न शुरु गरेको छ । कम्पनीले छुट्याएको चारमध्ये दुई जिल्लामा खरीद प्रक्रिया शुरु भएको र अन्य दुईमा तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यही वैशाख २३ गतेदेखि कैलाल (धनगढी) र बर्दिया (राजापुर) जिल्लामा किसानबाट गहुँ खरीद भइरहेको छ ।

उनका अनुसार विभिन्न कारणले बाँके (नेपालगन्ज) र रुपन्देही (भैरहवा)मा खरीद प्रक्रिया शुुरु हुन सकेको छैन । कोभिड–१९ का कारण नेपालगन्जमा खरीद प्रक्रियामा केही समस्या आएको छ भने केही दिनमा भैरहवामा प्रक्रिया शुरु गरिने उनले जानकारी दिए । कम्पनीले धनगढी र राजापुरमा दशदश हजार तथा नेपालगन्ज र भैरहवामा पाँचपाँच हजार क्विन्टल गरी ३० हजार क्विन्टल (तीन हजार टन) गहुँ खरीद गर्न चार जिल्लामा कोटा छुट्याएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार धनगढीमा एक हजार ५५० र राजापुरमा ९६१ क्विन्टल गरी दुई हजार ५१० क्विन्टल गहुँ खरीद भइसकेको छ । यही वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेअनुसार गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १५ रहने गरी स्वीकृत गरेको थियो । मन्त्रालयले रु दुई हजार ३१९ उत्पादन लागत, रु २३१ ढुवानी खर्च र किसानलाई रु ४६३ नाफासहित रु तीन हजार १५ समर्थन मूल्य रहने गरी मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सरकारले पहिलो पटक गहुँको समर्थन मूल्य तोकेको कम्पनीले जनाएको छ ।

सूचना अधिकारी न्यौपानेका अनुसार कम्पनीको नियमित कार्यक्रमअन्तर्गत गहुँ खरीदमा रु नौ करोड पाँच लाख विनियोजन गरिएको छ । उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २६५ टन र २०७५/०७६ मा ३८१ टन गहुँ किसानबाट खरीद गरिएको थियो । उक्त समयमा स्थानअनुसार औसत प्रतिक्विन्टल रु दुई हजार ७०० सम्म परेको कम्पनीले जनाएको छ । कम्पनीले खरीद गरेको गहुँ उपभोक्ताको मागअनुसार दुर्गम जिल्लासँगै काठमाडौँमा समेत बिक्री गरिने छ । रासस

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १९:१७