सूचनाको शक्ति - The Power Of Information

        

थप ५६ वटा रिपोर्ट नेगेटिभ, कोहलपुरका धार्मिक संस्थामा निगरानी

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो पटक परीक्षण गरिएका ५६ वटा नमुनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । खजुरा र नेपालगन्जका गरी ५६ वटा स्वाव परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार वैशाख २५ गते नेपालगन्जमा ३० र खजुरामा १८ जनाको स्वाव संकलन गरिएको थियो । खजुराको रनियापुर, सोनपुर र उढरापुरमा ५/५ जना, डीगाउँ, भण्डारिया र क्यान्सर अस्पतालका एक/एक जनाको स्वाव संकलन गरिएको थियो ।

दुई हजार टेष्ट किट र एक हजार भीटीएम आएको बाँकेमा शनिबारदेखि द्रुत गतिमा स्वाब संकलन भइरहेको छ । २४ जना संक्रमित देखिएको नेपालगन्जमा उनीहरुको सम्पर्कमा आएका व्यक्तिसँगै कोरोनाविरुद्धको अभियानमा निरन्तर फिल्ड खटिएका जनप्रतिनिधिहरुको स्वाब परीक्षण थालिएको छ ।

नेपालगन्जमा कोरोना संक्रमणको दर बढ्दै गएपछि कोहलपुरमा उच्च शतर्कता अपनाउन थालिएको छ । धेरै भीडभाड हुने र जोखिमयुक्त क्षेत्रमा कोहलपुर नगरपालिकाले निगरानी बढाएको छ । शनिबार कोहलपुर क्षेत्रभित्र रहेका बिभिन्न धार्मिक संस्थाहरुको अनुगमनसमेत गरिएको छ ।

कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको नेतृत्वमा मन्दिर, मस्जिद र चर्चहरुको अनुगमन गरिएको छ । रावतको नेतृत्वमा ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख कुलदिप चन्द, नगर स्वास्थ्य कार्यलयका प्रमुख डिल्लीराज पोख्रेल, नगर स्वास्थ्यका फोकल पर्सन अनिल सेन ठकुरी लगायतको टोलीले धार्मिक संस्थाहरुको अनुगमन गरेको हो ।

टोलीले कोहलपुर–१२ चपरगौडीमा रहेको रामजानकी राधाकृष्ण गुरुकुल र कोहलपुर–६ मा रहेको आन्नद एजी मण्डली चर्चको अवस्थाको बारेमा अनुगमन गरेको छ । सो क्रममा रामजानकी राधाकृष्ण गुरुकुलमा १५ जना विद्यार्थी र चार जना शिक्षकलाई कोरोना संक्रमण र यसबाट बच्चे उपाएका बारेमा परामर्श दिइएको छ ।

आनन्द एजी मण्डली चर्च भने सञ्चालनमा नआएको भेटिएको छ । मानिसको धेरै भीडभाड हुने स्थानको पहिचान गरी त्यस क्षेत्रमा पुगेर कोरोना संक्रमणसँग जुध्ने उपाएका बारेमा परामर्श दिइएको कोहलपुर नगरपालिकाका नगर प्रमुख रावतले बताएका छन् ।

शनिबार कोहलपुर नगरपालिका वडा नं. ६ र १४ मा रहेका मस्जिदहरुको समेत अनुगमन गरिएको र सो क्रममा कसैलाई कोरोना भाइरसको आशंका लागेमा पिसिआर टेष्ट गर्न आग्रह गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमूख एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १७:४३