बाँके । कोरोनाविरुद्धको अभियानमा ‘रे अफ होप अर्थात् आशाका किरण’का रुपमा निरन्तर होमिएका नेपालगन्ज उपमहानगरपालिका मेयर डा.धवलशमशेर राणाको ‘थ्रोड स्वाब’ परीक्षण गरिएको छ । नेपालगन्जमा २४ जनामा संक्रमण देखिएपछि थप संक्रमण फैलिन नदिन सक्रिय भएर नयाँ रणनीति बनाउने अग्रमोर्चामा रहेका मेयर डा.राणाको ‘थ्रोड स्वाब’ परीक्षण गरिएको हो ।
देशभर लकडाउन सुरु भएसँगै विहानदेखि साँझसम्मको दैनिकी कोरोना संक्रमणविरुद्धकै अभियानमा बिताइरहेका मेयर डा..राणाको ‘थ्रोड स्वाब’ परीक्षणपछि उनको रिपोर्ट आउन बाँकी नै छ । नेपालगन्जको मानचित्र परिवर्तनमा जुटेका कर्मशील मेयर डा.राणा अहिले विकासे चटारोलाई भन्दा कोरोना संक्रमणविरुद्धको महाअभियानलाई प्राथमिकता दिएर अग्रपंक्तिमा उभिएर आएका छन् ।
नेपालगन्जलाई मात्र नभई समग्र कर्णाली प्रदेशलाई नै कोरोनाको संक्रमणको जोखिमबाट बचाउनुपर्ने थप जिम्मेवारी पनि छ । यसअघि भारतबाट जमुनाहा नाका हुँदै नेपाल भित्रिएका अधिकांश नागरिक कर्णाली प्रदेशका थिए । उनीहरुलाई जमुनाहास्थित क्वारेन्टाइनमा राखेर परीक्षणसमेत गरेर पठाइसकिएको छ । यसले पनि बाँके, बर्दियामात्रै नभई सिंगो कर्णालीमा कोरोना संक्रमण बढ्न सक्ने आशंकाले पनि नेपालगन्जका मेयरको भूमिका सिंगो कर्णालीलाई जोगाउनेतर्फ पनि केन्द्रित छ ।
मेयर डा.राणालाई आफ्नो नगर, जिल्लामात्रै होइन सिङ्गो कर्णाली प्रदेशलाई नै जोगाउनुपर्ने जिम्मेवारीका कारण भीडभाड र दौडधुपमा जानैपर्ने परिस्थिति भएकाले उनको स्वाब परीक्षण गरिएको जनाइएको छ । विकासको गतिमा दौडिएको नेपालगन्जलाई एकाएक कोरोना संक्रमणको कहरले प्रभावित पारेपछि निरन्तर कोरोनाविरुद्धको अभियानमा जुट्नुपरेको मेयर डा.राणाको भनाई छ ।
‘यहाँका सडकहरु चौडा र चिल्ला बन्दै थिए । भित्रि गल्लीहरु पक्की बन्दै थिए । सडक किनार सफा बन्दै थिए । दशकौंदेखि रोकिएको विकासले गति लिइरहेको थियो, कोरोनाले विकासलाई एकाएक प्रभावित बनाइदियो,’ उनले भने, ‘अहिले कोरोनाविरुद्धको अभियानमा छु । अभियानमै जुटिरहेका बेला आफू अझ ढुक्क भएका काम गर्नकै लागि स्वाब परीक्षण गरेको हुँ । परीक्षण रिपोर्ट आउन बाँकी छ । तर म चाँही ढुक्क छु रिपोर्ट नेगेटिभ आउँछ ।’
कोरोनाको कहर एकाएक रोकिदिएको गतिशील नेपालगन्जलाई कोरोना सकिएपछि फेरि पुरानैलयमा फर्काउने योजनासमेत बनाइरहेको मेयर डा.राणाले बताए । उनले भने, ‘नेपालगन्जलाई शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग व्यापारको हब बनाउन प्रयास भइरहेको छ । ठूलो संख्यामा खुलेका अस्पताल, होटल, शैक्षिक केन्द्र तथा उद्योग व्यापारलाई सधैँ चलायमान बनाइराख्नकै लागि कोरोना सकिएपछि त्यसतर्फ केन्द्रित हुनेछौं ।’
नेपालगन्जको विकासे गति केही महिनापछि फेरि पुरानै लयमा फर्किएर आफ्नो रफ्तारलाई कायम गर्नेमा मेयर डा.राणा ढुक्क छन् । अहिले नेपालगन्जमा २४ जनामा संक्रमण देखिएपछि उनीहरुको ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’, ‘टाभल हिस्ट्री’ लगायतका कामसँगै क्वारेन्टाइन व्यवस्थापन, खानपानको व्यवस्था, स्वास्थ्योपचार, स्वास्थ्यकर्मीको खटनपटनका योजनाहरु बनाउनमै ब्यस्त भएको मेयर डा.राणाको भनाई छ ।
अहिले उपमहानगरले कोरोनाविरुद्धका कामहरु बाहेक अरु सबै सेवाहरु बन्द गरेको छ । अहिले उपमहानगरपालिकाको पुरै ताकतलाई कोरोनाविरुद्धको अभियानमा होमिन मेयर डा.राणाको निर्देशन छ । पहाडी, मुस्लिम र मधेशी समुदाय सबैलाई कोरोनाको महायुद्धमा साझेदार भएर अघि बढ्न मेयरले आग्रह गरिरहेका छन् । कोरोनाविरुद्धको अभियानमा यहाँका राजनीतिक दल, बोर्ड वा कर्मचारी र नागरिक सबैलाई मेयर डा.राणाले एकजुट गराइरहेका छन् ।
यसैबीच, नेपालगन्जका उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, प्रदेश नं. ५ का सांसद याकूब अन्सारी लगायत विभिन्न वडाका वडाध्यक्षहरुको कोरोना परिक्षणसमेत गरिएको पनि मेयर डा.राणाले जानकारी दिएका छन् । उनले कोरोना संक्रमणबाट बच्न सबैलाई सचेत रहन आग्रह गर्दै सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुको उच्च प्रशंसा पनि गरेका छन् ।
सत्यपाटी ।