सूचनाको शक्ति - The Power Of Information

        

एकैदिन युएईका २२ नेपाली कोरोना संक्रमित

संयुक्त अरब इमिरेट्स । युएईको शारहजामा एकैदिन २२ नेपाली कामदारहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । ती सबै नेपाली महिला कामदार हुन् । शारहजाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड–१९ पोजिटिभ देखिएको थियो। पोजिटिभ हुनेमा २२ जना नेपाली महिला कामदारहरु रहेको एनआरएनए युएईको क्युआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाले बताए ।

संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ। तर क्वारेन्टाइनमा अलग्गै बाथरुम र शौचालय नभएकोले संक्रमण नभएका अन्य कामदारहरु समस्या रहेको शेर्पाले बताए । उक्त कम्पनीमा सयको हाराहारीमा नेपाली महिला कामदारहरु कार्यरत छन् । उनीहरु स्कुल, कलेज, बैंक, विभिन्न अफिसहरुमा हाउस किपिङको काम गर्छन् । स्कुल, कलेजमा काम गर्नेहरु बेतलबी बिदामा छन् भने बैंक तथा अन्य प्रतिष्ठानहरुमा काम गर्नेहरु नियमित ड्युटी गरिरहेका छन् ।

शेर्पाका अनुसार दुबई क्षेत्रभन्दा बाहिर समस्या परेकोले आफूहरुले कोरोना पोजिटिभ भएको अवस्थामा पनि दुबईमा झैं सरकारी व्यवस्थित क्वारेन्टाइनमा पठाउन नसकेको बताए । क्युआरएफले इमिरेट्स अफ दुबईभित्र मात्र हेर्न स्थानीय प्रहरीले दिएको अनुमतिका कारण अन्य इमिरेट्सको समस्या हेर्न नसकेको बताए । दुबईमा मात्र हालसम्म ४४ जना नेपाली संक्रमित भएका छन् । जसमध्ये १२ जना उपचार पछि निको भएको, ५ जनाले कम्पनी क्वारेन्टाइनमा, २ जनाले आफ्नै निवासको सेल्फ क्वारेन्टाइनमा र २५ जनाले दुबई सरकारको क्वारेन्टाइनमा स्वास्थलाभ गरिरहेका छन् ।

क्युआरएफले दुबई सरकारको क्वारेन्टाइनमा पठाउन सिफारिस गरेकोहरुको स्थानान्तरण दर शतप्रतिशत भएको बताउँदै शेर्पाले क्युआरएफमा जानकारी आएको बढीमा ७२ घन्टाभित्र दुबई सरकारले खाली ठाउँ हेरि संक्रमितहरुलाई स्थानान्तरण गरेको बताए । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोइरालाका अनुसार हालसम्म युएईका सबै राज्यमा गरी १४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएका छन् भने ६ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १२:४४