सूचनाको शक्ति - The Power Of Information

        

जोल्हनपूर्वामा तत्काल राहत वितरण गरिने

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नम्बर ८ जोल्हनपूर्वामा तत्काल राहत वितरण गर्ने भएको छ । नगर प्रमुख डा. धवलसम्शेर राणाको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले सो टोलका ८० घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपालगन्जमा हालसम्म २४ जनामा कोरोना संक्रमण देखिएको छ । बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि समन्वयका लागि प्रत्येक वडामा समिति गठन गर्ने निर्णयसमेत गरेको छ । उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि आवश्यक किट तत्काल भेरी अस्पतालमा उपलब्ध गराउनसमेत माग गरेको छ ।

बैठकले लकडाउनका मापदण्ड पुरा गर्दै सामाजिक दुरी कायम गरेर विकास निर्माणका कार्य सुरु गर्ने र नगरका विपन्न समुदायका नागरिकले राहत माग गरेमा स्थलगत अनुगमनका आधारमा मात्रै वितरण गर्ने निर्णय गरेको छ । बैठकले नगरमा हाइमाष्ट जडानको प्रक्रियालाई अघि बढाउने र नारी विकास केन्द्रमा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १८:०७