सूचनाको शक्ति - The Power Of Information

        

अधिकारकर्मी र सञ्चारकर्मीद्धारा क्वारेन्टाइन अनुगमन

बझाङ । जिल्लास्थित मानव अधिकारकर्मी र सञ्चारकर्मीहरुले यहाँ रहेका क्वारेन्टाइनको अवस्थाबारे अनुगमन गरेका छन् । विहिबार सदरमुकाम चैनपुरबाट गएको टोलीले केदारस्युँ गाउँपालिकाको शिक्षोदय मावि बागथलामा रहेको क्वारेन्टाइन स्थलको अवलोकनका साथै र त्यहाँ रहेका नागरिकह र जनप्रतिनिधिसँग भेटघाट गरेको हो ।

टोलीले क्वारेन्टाइनमा खाना, बस्नको ब्यवस्थाबारे जानकारी लिँदै क्वारेन्टाइनमा रहेका मानिसहरुको समस्या गुनासो बारेमा पनि छलफल भएको टोलीका सदस्य तथा इन्सेक जिल्ला प्रतिनिधि रमेश केसीले बताए । उनले भने, ‘हामीले फिल्डमा जादा लकडाउनको अवस्था खाद्यान्न वितरणको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेका हौं ।’ क्वारेन्टाइनमा गर्भवती महिलासहित दुई बच्चा गरी २३ जनालाई बस्नसमेत अप्ठ्यारो भएको उनीहरुको गुनासो छ ।

उनले गाउँपालिकाका अध्यक्षसँग भेटवार्ता र छलफल गरेर क्वारेन्टाइनमा बस्दै आएकाहरु महाकालीपारि भारतीय क्वारेन्टाइनमा ३५ दिन बसेकालाई जिल्लामा पुनः १४ दिन अनिवार्य राख्नुपर्ने भएकाले उनीहरुको चेकजाँच छिटो गर्न सुझाव दिएको बताए । क्वारेन्टाइनमा रहेका केदारस्युँ गाउँपालिका–६ घर भएका २२ बर्षिया राजु विकले आफुहरु धेरै दिन भारतको पिथौरागढमा क्वारेन्टाइनमा बसेर आएकोले छिटो चेकजाँच गरी घर जान पहल गरिदिन अधिकारकर्मीहरु समक्ष आग्रह गरे ।

अनुगमन टोलीले क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण र खानबस्नका लागि उचित ब्यवस्था गर्न गाउँपालिकालाई सुझाएको थियो । गाँउपालिका अध्यक्ष ईन्द्रबहादुर भण्डारीले क्वारेन्टाइनमा रहेकाहरुलाई खानबस्न र अन्य समस्या भए समाधानका लागि सजग रहेको बताए । अनुगमन टोलीमा जिल्ला मानवअधिकार अनुगमन समितिका संयोजक जगदीस रोकाया, सदस्य रमेश केसी, पत्रकार महासघंका जिल्ला सचिव शैलेन्द्र रोकायासहित अन्य सञ्चाकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १७:२५