सूचनाको शक्ति - The Power Of Information

        

नागरिकलाई भोको नराख्न खाद्यान्न भन्डारण

खाद्यान्न भण्डारण गरेको देखाउँदै केदारस्युँ गाँउपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी ।

खाद्यान्न भण्डारण गरेको देखाउँदै केदारस्युँ गाँउपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी ।

बझाङ । देशमा भैरहेको लकडाउनको बेला आफ्नो पालिकाभित्रका नागरिकहरुलाई भोकमरी हुन नदिन केदारस्युँ गाउँपालिकाले खाद्यान्न भण्डारण गरेको छ । पहिलो चरणमा विपन्न गरिब परिवारहरुलाई खाद्यान्न वितरण गरेको गाउँपालिकाले अहिले भोकमरीलाई मध्यनजर गर्दै खाद्यान्न भण्डारण गरेको हो ।

नौ वडा रहेको गाउँपालिकाभित्र दुई हजार परिवारलाई राहत विरण गर्ने लक्ष्य भएको बताउँदै गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भन्डारीले लकडाउन लम्बिन सक्ने हुँदा खाद्यान्न खरिद गरी भण्डारण गरेको बताए । गाउँपालिकाले पहिलो चरणमा ३०० परिवारलाई खाद्यान्न वितरण गरिसकेको र पुनः खाद्यान्न सकिएका घरपरिवारमा खाद्यान्न दिने योजना रहेको बताए ।

पालिकाले कार्यालयको सभाहलमा खाद्यान्न स्टोर बनाएर ३०० क्वीन्टल चामल, ६० क्वीन्टल दाल ११५ क्वीन्टल नुनसहित ३३६ पेटी तेल जम्मा गरेर राखेको छ । पालिकामा लकडाउनको बेला मजदुर काम गरेर खाने, गरिब परिवारहरुलाई खाद्यान्न राहत दिनका लागि प्रदेश सरकारबाट २५ लाख आएको छ ।

थप प्रदेशबाट आएको ३ लाखसहित पालिकाको ५ लाख गरी कुल ३३ लाख रुपैयाँ खर्चको जोहो गरेको वताए । केदारस्यँु गाउँपालिकाको भामचौर, भैरवनाथ, रायल र बाँजका उच्च पहाडी बस्तीमा खाद्यान्न अभाव हुने भएकाले देशमा भएको लकडाउनले कामकाज गर्न नपाएर यी बस्तीमा खाद्यन्न समस्या हुन सक्ने अनुमान गरिएको छ ।

‘अन्य पालिकाभन्दा हाम्रो पालिकाभित्र यस अगाडि पनि खाद्यान्न समस्या छ,’ गाउँपालिकाका कर्मचारी लेखराज रावलले भने, ‘लकडानको समयमा पालिकाभित्रका कुनै पनि मानिस भोकै बस्न नपरोस भनेर खाद्यको मौजात गरिएको हो ।’ गाउँपालिकाभित्रका बस्तीहरुमा पनि विहान र बेलुका दुई दुई घण्टा खाद्यान्न पसलहरु खुलाउने ब्यवस्था गरिएको छ ।

पालिकामा रहेका बागथला र गर्जेपानी गरी दुई वटा क्वारेन्टाइनमा २३ जना रहेका छन् । कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि लकडाउन नै विकल्प भएको हुँदा केहि महिना लकडाउन लम्ब्याए पनि नागरिकमा भोकमरी हुन नदिने गाउँपालिका अध्यक्ष भन्डारीले बताए ।

१० वटा गाउँपालिका र २ वटा नगरपालिका रहेको बझाङमा केदास्युँ र वित्थडचिर गाउँपालिका तथा बुंगल नगरपालिकाका मानिसहरु झुलाघाट नाकाबाट मानिसहरु आएका हुँदा यी पालिका बढी जोखिम मानिन्छ । जिल्लाका अन्य स्थानीय तहहरुले पनि आफ्ना नागरिकहरुको पेट भोको नरहोस् भनेर खाद्यान्न वितरण गरिरहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १५:५९