सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रसंघ महासचिवले भने, ‘कोरोना महामारीसँगै विश्वमा घृणा बढ्दैछ’

जेनेभा । कोरोना भाइरसको महामारीसँगै विश्वमा पछिल्लो समय ‘घृणा र जेनोफोबिया (विदेशीलाई नरुचाउने वा विदेशी विरोधी भावना)’ को तीव्र ‘सुनामी’ आएको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले चिन्ता व्यक्त गरेका छन् । महामारीसँगै विश्वका विभिन्न क्षेत्रमा विदेशी–विरोधी, यहूदी विरोधी षडयन्त्रयुक्त सिद्धान्तहरु बिस्तार भइरहेको तथा मुस्लिम समुदायमाथि हुने आक्रमण बढेको देखिएको महासचिव गुट्रेसले बताएका छन् ।

उनले भनेका छन्, ‘कोभिड–१९ ले हामी को हौँ, कहाँ बस्छौँ वा हाम्रो विश्वास या आस्था के हो भन्ने चिन्दैन । र पनि महामारीसँगै घृणा र जेनोफोबियासँगै निश्चित समुदायमाथिका आक्रमणको सुनामी नै आएको छ ।’ उनले अघि भनेका छन्, ‘त्यसैले म अपिल गर्न चाहन्छु कि विश्वभर घृणायुक्त अभिव्यक्ति बन्द गरियोस् । यो समय एकताको हो । विभाजनको होइन ।’ गुटरेस घृणा तथा जेनोफोबियाका घटनाका उदहारण दिएनन् ।

तर विश्वका विभिन्न क्षेत्रमा महामारीलाई लिएर यस्ता घटना भाइरहेका छन् । भारतमा पछिल्लो समय मुस्लिम विरोधी गतिविधि वा इस्लामोफोबिया बढ्दै गएको देखिएको छ । दिल्लीको तब्लीगी मस्जिद जमातीहरुमा धेरै संक्रमण देखिएपछि भारतमा इस्लामोफोबिया बढेको हो । बेलायतमा सिंगापुरका एक विद्यार्थीमाथि कुटपिट भएको थियो भने चीनको ग्वान्झाउमा अफ्रिकनमाथि दुर्व्यवहार भएको थियो ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई वुहान भाइरस वा चिनियाँ भाइरस भनेर घृणा भाव जगाएको चीनको आरोप छ । इजरायलमा गरिएको एक अनुसन्धानमा कोरोना भाइरसको संकटसँगै विश्वभर यहूदी विरोधी भावना बढेको देखिएको छ । यही परिवेशलाई लिएर संयुक्त राष्ट्रसंघका महासचिवले सम्बोधन गरी चिन्ता जताएका हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १५:४२