सूचनाको शक्ति - The Power Of Information

        

संविधान सभा सदस्य खड्काले छोडे ‘विप्लव’ समुह

बझाङ । नेत्रविकम चन्द्र ‘विप्लव’ समुहका केन्द्रिय सदस्य तथा सेती व्युरो ईन्चार्ज शंकर खड्काले उक्त पार्टीमा काम गर्न अब आफु शारीरिकरुपमा असक्षम रहेको भन्दै पार्टी परित्याग गरेका छन् । विगत एक वर्षदेखि विप्लब समुह पार्टीको सम्पर्क समन्वयबाट टाढा रहि भूमिगतरुपमा बस्दै आएका खड्काले विहिवार बझाङ थलारा गाँउपालिका–२ दंगाजी सिमार पुर्खौली घरमा पत्रकार सम्मेलन गरि विप्लव पार्टी परित्याग गरेको सार्वजनिक गरेको हुन् ।

प्रतिवन्ध गरेको विप्लव समुहमा संलग्न उनलाई गिरप्तार गर्ने प्रहरी प्रशासन लागिरहेको हुँदा यसअघि उनी लुकीछिपी बस्दै आएका थिए । दंगाजीको पुर्खौली घर सिमार गाउँमा स्थानीय वडाध्यक्ष र अगुवासहितको उपस्थितमा आफुले अब विप्लब पार्टीमा नरहेको घोषणा गरेका थिए । उनले आफुले विप्लव समुहमा रहदाँ जे जति पार्टीका लागि काम गरे त्यसप्रति कुनै गुनासो नभएको तर हाल आफ्नो शाररिक अस्वस्थता रहेकाले अब घरमै बसेर सामान्य नागरिकसरह जिउने सोच गरेको बताए ।

आफूलाई सुगरको समस्या रहेको भन्दै पार्टीमा काम गर्दा दौडधुप धेरै गर्नुपर्ने भएकाले आफ्नो शारीरिक कमजोरीका कारण काम गर्न नसक्ने हुँदा विप्लव पार्टी त्यागेको जानकारी दिए । नेकपा माओवादीका तर्फबाट २०६४ सालको पहिलो संविधान सभामा बझाड क्षेत्र नं. २ बाट निर्वाचित भएका खड्का तत्कालीन एनेकपा माअ‍ेवादी विभाजनपछि मोहन बैद्यको नेतृत्वमा नेकपा माओवादीका केन्द्रीय सदस्यसहित विप्लव समुहमा लागेका थिए ।

झण्डै १० वर्षजती दंगाजी उमाविमा प्रधानाध्यापक समेत भइसकेका खड्का २०५८ सालमा राजिनामा दिएर तत्कालीन माओवादीमा लागेका थिए । यसअघि उनी शिक्षक संगठनका संस्थापक पनि हुन् । नेता खड्काले सार्वजनिकरुपमा विप्लव समुह परित्याग गरेपछि उनका घरपरिवारका मानिसहरु र आफन्तहरु पनि खुशी भएका छन् । बझाङको बाम बुद्धिजिविका रुपमा चिनिने खड्का निश्वार्थी नेता रहेको स्थानीय नेता भीम भण्डारीले बताए । यता प्रहरीले भने उनलाई राज्यद्रोहको मुद्दा लगाएको बुझिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १४:२९