खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको आइसोलेसनको अवस्थाका बारेमा पत्रकारहरुसँग कुराकानी गर्दै भेरी अस्पतालकी नर्सिङ अधिकृत तथा आइसोलेसन इन्चार्ज शिला शर्मा ।
बाँके । कोरोना संक्रमित (कोभिड–१९) विरामीलाई उपचार गर्नका लागि खजुरामा बनाइएको आइसोलेसन विरामीमैत्री देखिएका छन् । सरकारी मापदण्ड अनुसार विविध औजारसहित भेन्टिलेसन जडान गरिएको आइसोलेसन उपचारका लागि विरामीमैत्री देखिएका हुन् । यहाँ सरकारी मापदण्डअनुसार आइसुलेसन तयार गरिएको छ ।
यतिमात्र होइन सरकारी मापदण्डअनुसार नै विरामीका लागि गासवास र आवश्यक औजारहरू (खेलौना)को व्यवस्थापनसमेत गरिएको छ । आइसोलेसन सतप्रतिशत मापदण्डमा नभए पनि विरामीका लागि सहज हुने गरी विरामी मैत्री र सेवामुखी रहेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका प्रमूखसमेत रहेका भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाशबहादुर थापा बताउँछन् ।
आइसोलेसनमा रहेका सबै विरामीका लागि सरकारले तोकेअनुसारकै सेवा सुविधा सतप्रतिशत नभए पनि व्यवस्थापनमा अस्पतालले राम्रै प्रबन्ध मिलाएको उनको भनाई छ । तर, विरामीका लागि आबश्यक सबै सेवा प्रदान गरिए पनि यहाँ उत्पादन हुने फोहोर विर्सजनमा भने निकै समस्या देखिएको छ । यसका लागि गाउँपालिकासँग पटकपटक छलफल भइरहेको भेरी अस्पतालकी नर्सिङ अधिकृत तथा आइसोलेसन इन्चार्ज शिला शर्मा बताउँछिन् ।
उनकाअनुसार पालिकाले पनि यहाँको फोहोर व्यवस्थापनका लागि प्रयास भइरहेको बताएको छ । उनले भनिन् ‘एकदुई दिनमा यसको पनि व्यवस्थापन हुन्छ ।’ आइसोलेसनमा बसेकाहरूका लागि सरकारले प्रदान गर्ने सबै प्रकारका सेवा सुविधाका साथै औषधी उपचार र खानपानमा समेत उत्तिकै ध्यान दिइएको इन्चार्ज शर्माले बताइन् । आइसोलेसनमा रहेका विरामी र उपचारमा खटिएका स्वास्थ्यकर्मीको बसाई र खानपानको पनि राम्रो व्यवस्थापन गरिएको छ ।
यसअघि आफन्तलाई छुट्टै राखिएको बाहिर आएको हल्ला गलत भएको भन्दै आफन्त वा यहाँ रहेका बाबुछोरीलाई एकै ठाउँमा राखिएको, उनीहरूको माग र आवश्यकता अनुसार सामग्री, खानापान र अन्य समय विताउनका लागि विभिन्न साधनहरू उपलब्ध उनले बताइन् । उनकाअनुसार उपचारमा रहेका विरामीको अवस्था सामान्य छ भने आइसोलेसनमा एकजना गर्भवती महिला पनि उपचाररत छन् ।
नेपालगन्जमा २३ जना संक्रमति भएको हुँदा आम जनमानस आतंकित बनेको थियो । कोरोना विशेष आइसोलेसनमा खानपान बसाई, सरसफाईको ब्यव्स्थापन ब्यबस्थित हुँदा पोजेटिभ केस आउँदैमा त्रसित नहुन उनले खजुराबासीसँग आग्रह गरिन् । बुधबार पनि भेरी अस्पतालले गरेको कोरोना परिक्षणका क्रममा ३४ जना व्यक्तिके कोरोना नेगेटिभ देखिएको छ । यसले बाँकेबासीमा कोरोनासँग जुध्ने थप उर्जा र हौसला प्रदान गरेको छ ।
कोभिड–१९ को संक्रमणले उच्च रूप लिन सक्ने कुरालाई ध्यान दिएर स्वास्थ्य कार्यालयको पहल र भेरी अस्पतालको सहयोगमा बाँकेको खजुरामा आइसोलेसन कक्ष तयार पारिएको थियो । उक्त कक्षमा गएको शुक्रबारदेखि बुधबारसम्म २३ जना संक्रमितहरूले नियमित उपचार गराइरहेका छन् । जसमा सात बर्षको बालिकादेखि ६० बर्षको जेष्ठ नागरिकसम्म उपचारत रहेको अहाइसोलेसन इन्चार्ज शर्माले जानकारी दिइन् ।
सत्यपाटी ।