सूचनाको शक्ति - The Power Of Information

        

यार्सा टिप्ने सिजन लकडाउनले प्रभावित

फाइल तस्वीर

फाइल तस्वीर

बझाङ । सुर्मा गाउँपालिका–२ का दिनेश बोहराले यसपाली यार्सा टिप्न लेकतिर जानका लागि तयार गरेको सामान घरमै थन्किएको छ । उनले लेखतिर जानका लागि खाद्यान्न लगायतको चाजोपाँजो सबै मिलाए थिए । उनीजस्तै उनका गाउँलेहरु पनि कहिले लकडाउन खुल्ला र कहिले लेकतिर जाउला भनेर पर्खिरहेका छन् । यो सिजन यार्सा टिप्ने भएकाले जिल्लाको उत्तरी भेगमा बसोबास गर्ने अधिकांश मान्छेहरु यार्सा टिप्न जानका लागि यतिवेला तयारीमा छन् ।

बिश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशमा भएको लकडाउनको असर बझाङका दुरदराज क्षेत्रमा पनि परेको छ । लकडाउनका कारण वल्लोपल्लो गाउँमा आवतजावत गर्न, मान्छेहरुको भिडभाड नगर्न र सार्बजनिक गतिबिधीहरु नगर्न स्थानीय तहले जानकारी दिएपछि गाउँलेहरुले पनि लकडाउनको पूर्ण पालना गरिरहेका छन् ।

यसपाली हिउँदतिर धेरै बर्षा र हिमपात भएकाले लेकतिर यार्सा धेरै पाइने सम्भावना छ । साइपाल गाउँपालिकाका दिपक बोहराले भने, ‘गाउँलेहरु लकडाउन कहिले खुल्ला भन्ने पखाईमा छन्, यो खुल्ने बित्तिकै झोलीझिम्टा बोकेर जाने हो ।’ जिल्लाको उत्तरी भेगका बासिन्दाहरुको प्रमुख आम्दानीको स्रोत यार्सा भएकाले यो सिजनमा घरका सबै मानिसहरु यार्सा टिप्न जानका लागि घरतिर आएका हुन्छन् ।

यार्सा टिप्ने ठाउँमा जान तीनदेखि चार दिनसम्म पैदल हिड्नुपर्ने भएकाले यो बेला यर्सा संकलकहरु खाद्यान ढुवानी गरेर बिच बाटोमा राख्ने, हाटेल ब्यवसायीहरु बाटो बाटोमा होटेल स्थापना गर्ने काममा ब्यस्त रहेका हुन्थे । यार्सा संकलन गरि बिक्री गरेको पैसाले साहुको ऋण तिर्ने सोच राखी यस क्षेत्रका स्थानीयहरुले यार्सा खरिद गर्ने ब्यापारीहरुबाट अग्रिम ऋण सापटी लिइराख्ने, खाद्यान्न तथा लत्ताकपडा उधारो निकाली राखेका हुन्छन् ।

‘अहिले हिमाली क्षेत्रसँग जोडिएका गाउँघर र यार्सा टिप्ने बाटोमा थुप्रै चहलपहल हुन्थ्यो,’ सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले भने, ‘देशमा लकडाउन भएका बेला हामीले पनि यार्सा संकलन कार्यमा रोक लगाएका छौं ।’ हिमाली क्षेत्रसँग जोडिएका साइपाल, सुर्मा, छबिस पाथिभेरा र दुर्गाथली गाउँपालिका तथा बुंगल नगरपालिकाले सार्बजनिक सूचना गरि हिमाली क्षेत्रमा यार्सा टिप्न रोक लगाएको छ । साथै अन्य जडिबुटीमा समेत स्थानिय तहलले संकलनमा रोक लगाएको छ ।

यार्सा संकलनका लागि अघिल्ला बर्षहरुमा जाजरकोट, रुकुम रोल्पा र बाह्रै जिल्लाका मान्छेहरु आउने गरेका भए पनि यसपालि भने लकडाउनका कारण बाहिरका मानिसहरु बझाङ आउन सकेका छैनन् । चैतको १५ गतेदेखि साउन पहिलो सातासम्म यार्सा संकलनको सिजन मानिन्छ । यो सिजनमा झण्डै २० हजार मानिसहरु यार्सा संकलन गर्न लेकतिर जाने गरेका थिए । हिमाली क्षेत्रमा बर्षेनी उत्पादन हुने यार्सा संकलन नगरे त्यसै खेर जाने देखिएको छ ।

करोडौंको यार्सा लकडाउन लामो समय बढ्दै गए संकलन गर्न नपाएर त्यसै खेर जाने होकी भन्ने चिन्ता पनि स्थानीयमा उत्तिकै छ । बार्षिक झण्डै ३ क्वीन्टल संकलन हुने यार्साबाट राज्यका लागि झण्डै एक करोड राजस्व संकलन गर्छ । यसको विक्रीबाट जिल्लामा एक अर्ब जतिको आम्दानी हुने गरेको छ । जिल्ला डिभिजन बन कार्यालयका निमित्त प्रमुख कर्णबहादुर खातीले यार्सा संकलनको सिजन सुरु भए पनि लकडाउनले यार्सा ब्यापारहरुको चहलपहल नभएको बताए । लकडाउन खुलेपछि संकलन पूर्जी दिनेसमेत उनले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार १०:५१