सूचनाको शक्ति - The Power Of Information

        

किसानलाई गहुँबाली भित्र्याउन समस्या

बझाङ, । धेरै दिनदेखि मौसममा आएको खराबीका कारण यहाँका किसानलाई भने गहुँबाली भित्र्याउन समस्या भएको छ । केहि सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांस किसानलाई पाकेको अन्नबाली भित्र्याउन समस्या भएको हो । उब्जनीका हिसाबले राम्रो मानिने जयपृथ्वी नगरपालिकाको देवल, भोपुर, रुइनाबगर, साइलाबगर, गोलाइ, पडेस, सुवेडा, खप्तड, थलारा, दुर्गाथली र केदास्युँ लगायतका खेतमा पाकेको गहुँ बर्षाले बिग्रिएको छ ।

लगातार वर्षा भइरहँदा किसानलाई गहुँ कसरी भित्र्याउन भने चिन्ता छ । जयपृथ्वी नगरपालिका ११ भोपुरका कृषक महादेव जोशीले भने, ‘एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले पाकेको गहुँ काट्न पाइएको छैन । कतिपय किसानले काटिसकेको गहुँ पनि सुकाउन र झार्न पाएका छैनन् ।’ उनीजस्तै जिल्लाका सबै किसानको उस्तै समस्या हो पाकेको गहुँ खेतमै कुहिएको छ ।

जयपृथ्वी नगरपालिका–३ का कृर्षक गजेन्द्र वलीले भने, ‘यसपाली गहुँ फल्ने समयमा लगातार वर्षा भइरहँदा गहुँवालीमा रोग देखिएकाले उब्जनी पनि कम भएको छ ।’ जयपृथ्वी नगरपालीका कृर्षि प्राविधिक मनराज जोशीले यसबर्ष मौसम बदलीका कारण धेरै पानी परेको हुँदा गहुँमा पहेंलो सिदुरे, ढुसी रोग लागेका बताए । उनले भने, ‘यसवर्ष गहुँ उत्पादनमा ह्रास आउने निश्चित छ ।’

जिल्लामा डब्लुके १२०४, धौलागिरी, स्वर्गद्वारी र स्थानीय जातका गहुँ लगाउने प्रचलन छ । कृषि ज्ञान केन्द्र बझाङका प्रमुख दिलबहादुर सिंहले भने, ‘सिंचाइ हुने ठाउँमा आकासे पानी बढि परेकाले गहुँमा सिदुरे रोग देखापरेको छ । तर पाखो खेतमा लगाइएको गहुँमा यो समस्या छैन ।’ जिल्लामा १० हजार ९०० हेक्टरमा गहुँ खेती हुँदै आएको छ । जसमा चार हजार हेक्टरमा मात्रै सिंचाई सुविधा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार १०:४६